गत वर्षदेखि मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–६ स्थित सिलिंगे सामुदायिक वन क्षेत्रमा स्थानीय किसानका मात्र मौरी चराउने व्यवस्था मिलाइएको छ । बिगतमा चितवन, काठमाडौं, सर्लाहीका मौरीपालक किसानले राक्सिराङमा मौरी चराउन ल्याउने गरेकाथिए । स्थानीय चेपाङ समुदायले पालेका मौरीमात्र सामुदायिक वनमा चराउन पाउने नियम बनेपछि स्थानीय मौरीपालक किसानलाई राहत मिलेको छ । गत वर्षदेखि सामुदायिक वनले स्थानीयलाई मात्र मौरी चराउन दिने निर्णय गरेपछि बाहिरबाट जाने मौरीपालक किसानको भीड घटेको स्थानीयले बताएका छन् । चितवनका किसानले मौरी चराएबापत वार्षिक साढे ३ लाख रुपैयाँसम्म सामुदायिक वन समितिलाई शुल्क बुझाउने गरेका थिए । स्थानीय कृषकले मौरीपालन गर्न थालेपछि बाहिरी जिल्लाका किसानले चराउन ल्याउदैनन् ।
बाहिरको किसानको मौरी चराउन प्रतिबन्ध लगाएपछि वन समितिको आम्दानीको स्रोत गुमेको सिलिंगे सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष सिंहलाल प्रजाले बताए । बाहिरी जिल्लाबाट फूलको सिजनमा मौरीपालक कृषकसँग प्रतिघार १ सय ५० रुपैयाँ लिएर मौरी चराउन दिने गरिएको थियो । स्थानीयले नै मौरीपालन गरेपछि बाहिरका कृषकले मौरी चराउन यो क्षेत्रमा ल्याउनै चाहँदैनन् । मौरीले जुन फूलबाट रस संकलन गर्ने हो त्यो संकलन दर कम हुने प्रजाले बताए ।मकवानपुरको पश्चिम क्षेत्र, राक्सिराङ, काँकडा, खैराङका बासिन्दाले प्रशस्त मौरीका घार राखेकाले बाहिरका मौरीपालक कृषकलाई मौरी चराउन ल्याउन नदिइएको हो । स्थानीयले पालेका मौरीलाई चिउरीको फूलको रस नपुग्ने भएकाले बाहिरी जिल्लाका मौरीपालकलाई मौरी चराउन रोक लगाइएको स्थानीयले बताएका छन् । चितवन, काठमाडौं, सर्लाहीलगायत जिल्लाका मौरीपालकले राक्सिराङको सिलिङे जंगलमा मंसिर पहिलो सातादेखि मौरी चराउन ल्याउने गर्थे । बाहिरका मौरीपालकले वर्षमा ३ हजारभन्दा बढी घारसहित मौरीचराउन ल्याउने गरेको पूर्ववडाअध्यक्ष प्रजाले बताए । स्थानीयले पनि ३ हजारभन्दा बढी मौरीका घारराखेका छन् ।
घारअनुसार चिउरीको फूल पर्याप्त नभएकाले मौरीपालक कृषकले खासै आम्दानी गर्न नसकेपछि वन समितिले बाहिरका मौरीको घार ल्याउन प्रतिबन्ध लगाउने निर्णयमा पुगेको प्रजाले जानकारी दिए । सामुदायिक वन क्षेत्रमा चिउरीको जंगल बढेको छैन । मौरीको घार मात्रै बढेकाले बाहिरका मौरीपालक कृषकलाई मौरी चराउन रोक लगाइएको हो । पछिल्लो समय चिउरीको संरक्षण गर्ने बिषयमा स्थानीयले बहस सुरु गरेका छन् ।विगतमा सिलिङेका अधिकांश चेपाङ र तामाङ परम्परागत ढंगले मुढेघारमा स्थानीय जातका मौरी पाल्ने गर्थे । मुढेघार बिस्थापित गरेर आधुनिक घारमा उन्नत (मेलिफेरा, सेराना) जातको मौरीपालन गर्न थालेका छन् । सरकारी निकायले स्थानीयलाई व्यावसायिकढंगले मौरीपालन गर्न घार र मौरी उपलब्ध गराउनुका साथै तालिम पनि दिदै आएको छ । स्थानीय चेपाङ किसानले उत्पादन गरेको मह जनचेतना साना किसान कृषि सहकारी संस्थाले खरिद गरिरहेको छ ।
गत आर्थिक वर्षमा १ करोड ३७ लाख रुपैयाँको मह बिक्री गरेको सहकारीले जनाएको छ ।१५० घार मौरीपालन गरेका मनहरीका कृषक शालिकराम बानियाँले केही वर्षदेखि आफ्नो मौरी चराउन कर्णाली प्रदेशको दाङसम्म पु¥याउने गरेका छन् । कुनै वर्ष मधेश प्रदेशको सर्लाहीमा लैजाने र कुनै वर्ष दाङ लैजाने गरेको बानियाँले बताए । यो वर्ष पनि दसैं सकिने बित्तिकै मौरी चराउने दाङ लैजाने तयारी गरिएको बानियाँले जानकारी दिए । कात्तिकको अन्तिम सम्ममा खेतमा तोरी फूल्न थालेपछि मौरीपालक किसानले तोरी बालीमा मौरी चराउन लैजाने गरेका छन् ।
सहकारीका अनुसार स्थानीयले उत्पादन गरेको करिव ५० मेट्रिकटन भन्दा बढी मह संकलन गरिएको थियो । सहकारीको लोथर बजारस्थित संकलन केन्द्रबाट संकलित मह हेटौंडा, भरतपुर, पोखरा, काठमाडौंलगायत सहरमा निकासी गरिन्छ । काठमाडौंमा हिमालय हनी सप्लायर्स प्रालि, नेपाल कृषि सहकारी केन्द्रीय संघ र जिल्ला कृषि सहकारी संघमा सहकारीले मह बिक्री गर्दै आएको सहकारीले जानकारी दिएको छ । सहकारीले मह किसानबाट प्रतिकेजी ३ सय रुपैयाँमा किन्ने गरेको छ । खरिद गरिएको मह सहकारीमै प्रशोधन प्रविधि उपयोग गरी प्रशोधन तथा प्याकिङ गरेर बिक्री थोक तथा खुद्रा बिक्री गरिन्छ ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्