स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ३ माझकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना भएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवती महिलाले स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्य चौकी प्रमुख संगीता गहतराजले बताइन् ।

‘यहाँ बर्थिङ सेन्टर स्थापना नहुँदै गर्भवती महिला स्वास्थ्य परीक्षणका लागि खासै आउँदैनथे’, उनले भनिन्, ‘बर्थिङ सेन्टर स्थापना भई सेवा दिन थालेपछि अहिले नियमित स्वास्थ्य चौकी आउने क्रम बढेको छ ।’

घर–घरमै वा वालिङ, पोखरालगायतका अस्पतालमा गएर सुत्केरी हुने गरेकामा अहिले गर्भवती भएदेखि नै नियमित स्वास्थ्यकर्मीको परामर्शअनुसार स्वास्थ्य परीक्षणमा आउने गरेको प्रमुख गहतराजले जानकारी दिइन् । ‘गर्भवती भएदेखि नै सुत्केरी महिलाको तथ्यांकक राखेर नियमित निगरानी र आवश्यक परामर्श दिइरहेका छौँ’, उनले भनिन्, ‘बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै सुत्केरी हुन स्वास्थ्य संस्थामा आएकालाई अहिलेसम्म फर्काउनुपरेको छैन ।’

बजारदेखि अलि टाढा र भनेको समय सवारीसाधन नपाईने समस्याले गर्भवती महिलालाई बोकेर वालिङ लैजानुपर्ने अवस्था थियो । अहिले त्यो समस्या समाधान भएको वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष सुकबहादुर गुरुङले बताए । ‘पहिला बाटोघाटोको पनि असुविधा थियो । समयमा गाडी पाइँदैनथ्यो । बाटोमै सुत्केरी हुने अवस्था थियो’, अध्यक्ष गुरुङले भने, ‘स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापनासँगै तालिमप्राप्त स्टाफले यहीँ सेवा दिन थालेपछि स्थानीयलाई सहज भएको छ ।’

गत वर्षदेखि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरी सेवा थपेसँगै घरमै सुत्केरी हुने वा अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको वडाध्यक्ष गुरुङ बताउँछन् ।
विकट र ग्रामीण भेग भएकाले स्वास्थ्यको पहुँचलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्छ भन्ने लागेर माझकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको सेवा थपिएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । ‘बर्थिङ सेन्टरका लागि आवश्यक पूर्वाधार, उपकरण व्यवस्था गरेका छौँ’, शाखा प्रमुख पाण्डेले भने, ‘अत्याधुनिक उपकरणसहित स्वास्थ्यकर्मीलाई तालिम दिएका छौँ । सोही कारण सेवा प्रभावकारी भएको छ भने स्थानीयलाई सहज भएको छ ।’

माझकोट स्वास्थ्य चौकीमा सञ्चालनमा ल्याइएको बर्थिङ सेन्टरका लागि स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे बुसान शाखाले स्वास्थ्य उपकरण उपलब्ध गराएको शाखाका निवर्तमान अध्यक्ष जीवलाल काफ्लेले जानकारी दिए । ग्रामीण भेगमा सहज र संस्थागत रूपमा सुत्केरी गराउन आवश्यक उपकरण शाखाले स्वास्थ्य चौकीलाई उपलब्ध गराएको थियो ।

पालिका प्रेस
थप जानकारी