सामाजिक सुरक्षा कोषले कोषमा अस्थायी करार सेवा तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ ।

कोषले मङ्सिरदेखि नै कोषको अस्थायी करार सेवा तथा ज्यालादारी सेवामा रहेका कर्मचारीलाई कोषको योजनामा आबद्ध गराउने प्रक्रिया सुरु गरेको हो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सरकारी तहबाट यसअघि भएको घोषणा अनुसार कोषले कोषको सचिवालयमा करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई कोषको योजनामा समेट्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सरकारको करार सेवामा वर्षौंसम्म काम गरेर रित्तो हात घर फर्किने अवस्था नहोस् भनेर कोषले आफ्नो करारमा सेवारत कर्मचारीलाई कोषको योजनामा आबद्धता गराउने निर्णय गरी प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

दुई महिनाअगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोषको क्षमता अभिवृद्धि गरी यसको विश्वसनीयता र अपनत्व कायम गर्न सरकारी करार र ज्यालादारीमा रहेका कर्मचारीलाई चरणबद्ध रूपमा कोषको योजनामा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै उहाँले साताभित्रै सामाजिक सुरक्षा कोषको कार्यालयमा कार्यरत करार सेवामा रहेका कर्मचारीबाट नै करारलाई कोषमा आबद्ध गराउने अभियानको सुरु गर्न निर्देशन दिनुुभएको थियो ।

साथै कोषले सरकारका अन्य कार्यालयमा अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीलाई कोषको योजनामा आबद्ध गराउने कार्यविधि तयार गरी अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ । सो कार्यविधि अर्थबाट स्वीकृति भएर आएपछि देशभर अस्थायी, करार तथा ज्यालादारीमा रहेका कर्मचारीको तथ्याङ्क सङ्कलन गरी चरणबद्ध रूपमा कोषको योजनामा आबद्ध गराउन सुरु गरिने कोषले जनाएको छ ।

कोषका अनुसार २०७६ साउन १ देखि हालसम्म कोषमा १८ हजार ४६५ जना रोजगारदाता र नौ लाख ४९ हजार ९०६ जना योगदानकर्ता सूचीकृत भएका छन् । जसमा औपचारिकतर्फका चार लाख ६४ हजार २१८ जना, वैदेशिक रोजगारतर्फ चार लाख ८५ हजार ६५३ जना, अनौपचारिकतर्फ तीन जना र स्वरोजगारतर्फ ३२ जना आबद्ध भएका छन् । कोषमा रोजगारदाता र योगदानकर्ताबाट ३९ अर्ब छ करोड रुपियाँ जम्मा भएको छ ।

पालिका प्रेस
थप जानकारी