मकवानपुर जिल्लालाई लागुऔषधमुक्त बनाउने अभियानमा सक्रिय मकवानपुर रिकभरिङ समूहलाई बागमती गाउँपालिकाले खाद्यान्न सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष सर्केस घलानले समूहको परिसरमै पुगेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।
समूहलाई गाउँपालिकाले चामल, दाल, आलु, चिउरा, बेसार, नुन, प्याज, तेल, चिनी, चिया मसला, धनियाँ, जिरा, साबुनलगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको छ । खाद्यान्न हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष घलानले भने –‘यसअघि पनि मकवानपुर रिकभरिङ समूहको भ्रमण गरिसकेको छु । समूहको वातावरण सकारात्मक र सुधारोन्मुख रहेको छ।’
‘समूहबाट कुलतमा फसेका व्यक्तिहरू सुधारिएर घर फर्किनु भएको देख्दा निकै खुसी लागेको छ,’ उनले भने। आगामी दिनमा पनि आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे। गाउँपालिकाले वार्षिक कार्यक्रममा लागुऔषध न्यूनीकरणसम्बन्धी योजना निर्माण तथा कार्यान्वयन गर्ने उनको भनाइ थियो। वि.सं. २०७० सालमा स्थापना भएको मकवानपुर रिकभरिङ समूहले हालसम्म २ हजार ५ सयभन्दा बढी लागुऔषध प्रयोगकर्तालाई उपचारपछि परिवारमा पुनस्र्थापना गरिसकेको समूहका निर्देशक सन्दिप शाक्यले जानकारी दिए।
हाल समूहमा ६२ जना उपचाररत रहेका छन् । घरपरिवारको सहारा नभएका तथा आर्थिक अवस्था कमजोर भएका प्रयोगकर्ताहरूलाई समूहले निःशुल्क सेवा प्रदान गर्दै आएको शाक्यले बताए।

















































पालिका प्रेस 





















प्रतिक्रिया दिनुहोस्