थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा २० माघमा विद्यालयले पूर्व विद्यार्थीहरुसंग अन्तरक्रिया गरेको छ । विद्यालयले ५६ औं वार्षिकोत्सवको अवसरमा ‘जनकल्याण माविको विगत, आगत र भविष्य’ विषयक अन्तरक्रिया गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टले विकासको पुर्वाधारको पनि पुर्वाधार शिक्षा भएकोले विद्यालयलाई अभिभावक र विद्यार्थीले विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । प्रमुख विष्टले भने–‘त्यसको लागि अभिभावकको चाहना बमोजिम शिक्षकको मेहनत, मानव मुल्य शिक्षा, अंग्रेजी माध्यम, पोशाक सगसंगै सरसफाई, विद्यार्थीको सुरक्षा, विद्यार्थीको रुचि अनुसारको अध्यापन, शैक्षिक गुणस्तर अभिवृद्वि अपरिहार्य छ ।’

विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले विद्यालयको विगत, वर्तमान र भविष्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रियामा शैक्षिक गुणस्तर अभिवृद्वि संगसंगै समय सापेक्ष प्राविधिक शिक्षालगायतका विषयमा छलफल गरिएको थियो । सहभागीहरुले जनकल्याणमा शिक्षाको वैज्ञानिक विकास र व्यवस्थापन, थाहामा शिक्षालाई कसरी कृषि र पर्यटनसँग जोड्ने उपाय, शिक्षालाई उत्पादनसँग जोड्ने मूलभूत विषयहरुमा केन्द्रित भएर धारणाहरु प्रस्तुत गरेका थिए ।

अन्तरक्रियामा हरिकृष्ण कार्की, रामहरी अधिकारी र रामकुमार बलले टिप्पणी सहित निष्कर्ष प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समिती अध्यक्ष सरोज कुमार खनाल र पुर्व विद्यार्थी बिष्णुहरी ढकाल जंगलीले जनकल्याणको विगतको स्मरण गराएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व विद्यार्थी रामनारायण विडारी, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पुर्वव्यवस्थापन समितिको अध्यक्ष तथा नारायणी यातायात व्यावसायि संघका महासचिव सरोज कुमार खनाललगायत पुर्व विद्यार्थी तथा पुर्व शिक्षक, पुर्व व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।

पालिका प्रेस
थप जानकारी