छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा शनिबार भएको फाइनलमा न्यूरोड टिम (एनआरटी) लाई सडनडेथमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । निर्धारित समय गोलरहित र टाइब्रेकरमा ३–३ गोलको बराबरी भएपछि सडनडेथमार्फत् खेलको निर्णय लिइएको हो ।

सडन डेथको दोस्रो पेनाल्टीमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरेसँगै स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताले नयाँ विजेता पाएको हो । एपीएफ र एनआरटी प्रतियोगिताको फाइनलमा पुगेको पहिलो पटक हो ।

एपिएफले उपाधिसहित १५ लाख र एनआरटीले १० लाख रुपैयाा प्राप्त गर्यो । पेनाल्टी सुटआउटमा एपीएफका एनिसेट, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए भने दिपेश धिमाल र बुद्धिमान राई गोल गर्न चुके । एनआरटीका लागि पेनाल्टीमा जय गुरुङ, प्रिसो, विवेक गुरुङले गोल गर्दा सन्तोष तामाङ र अभिषेक गुरुङले गोल गर्न सकेनन् ।

सडनडेथमा एपीएफका मणि लामा र फोफनाले गोल गरेका थिए । एनआरटीका मोहित गुरुङले गोल गर्दा रनदीप पौडेलको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोकेका थिए ।

एपीएफका फरवार्ड अनिष महर्जनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै उनले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् । करिब ५ लाख रुपैयाँ बराबरको मोटरसाइकल प्राप्त गरेसँगै उनी खुशीले गदगद भएका थिए । केही महिना अगाडिदेखि मात्रै एपीएफमा अनुबन्धित भएका उनले प्रतियोगितामा दुई गोल गरेका थिए । उनी हेटौंडाकै हुन् । पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सर्वोत्कृष्ट खेलाडीका लागि प्रायोजन गरेको थियो ।

पालिका प्रेस
थप जानकारी