हेटौंडामा चैत अन्तिम साताबाट मेयर कप फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । हेटौंडा उपमहानगर पालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको समन्वयमा मेयर कपको चौथो संस्करण हुन लागेको हो ।

चैत २४ गतेबाट हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा नगरको १९ वटा वडा सहभागी हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नगरक्षेत्रमा खेलाडी उत्पादनका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । नकाउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ र उपविजेताले एकलाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको हेटौंडा नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले बताए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय टोलीमा सहभागी भइसकेका खेलाडीले खेल्न पाउने छैनन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई दशहजार रुपैयाँ नगदसहित सम्मानित गरिने भएको छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही नगद ५÷५ हजार रुपैयाँ प्रदान गरिने घिमिरेले बताए ।

पालिका प्रेस
थप जानकारी