सञ्चारको विकास क्रमसंगै नागरिकलाई सूचना र सन्देश पाउन निकै सजिलो भएको छ । विद्युतीय सञ्चार माध्यममा अनलाइन पत्रकारिता सबैभन्दा चल्तीको पत्रकारिताको रुपमा स्थापित हुँदै गएको छ । अनलाइन संचार माध्यम कम लगानीमा पनि शुरु गर्न सकिने भएकोले शुरुवातीमा कठिनाइ हुने कुरै भएन । पाठक सजिलै भेटिने र एकै पटक थुप्रै पाठक समक्ष सामाग्री पु¥याउन सकिने भएकोले यो माध्यममा पाठकको रुची पनि बढ्दै गएको छ । त्यसोतः छापा पत्रकारिताको हिजोको प्रभाव र पहुँच क्रमशः अनलाइन मिडियातिर पनि विस्तारित हुँदै गरेको छ । कोभिड–१९ को महामारीले आम मानिसलाई द्रुत गतिमा डिजिटल दुनियाँमा प्रवेश गराएको छ । पत्रकारितामा मर्यादित, व्यावसायिक र उत्तरदायी प्रयासस्वरूप हामीले पालिका प्रेस सुरु गरेका छौँ । हजारौ अनलाइन सञ्चार माध्यमहरु संचालनमा छन् । यहि भिडका बीचमा अनलाईन संचालनमा ल्याउनु कुनै नयाँ कुरा त होइन तर अनलाइनले समेट्ने विषयवस्तु अहिलेको जल्दोबल्दो ‘एजेण्डा’ हो । अनि, विज्ञापन केन्द्रित कि उत्तरदायित्वसहित नागरिक केन्द्रित अहिलेको पत्रकारिताको अर्को बहसको विषय पनि हो । हुनत विज्ञापन नै सञ्चार माध्यम संचालन गर्ने मुख्य स्रोत हो । तर विज्ञापनसंगै आफ्नो उत्तरदायित्व नभूल्ने हाम्रो प्रण हो । यहि भरोसाको साथ पालिका प्रेस संचालनमा ल्याएका छौं ।

पत्रकारिता । त्यो पनि विषयगत पत्रकारिता अलि कठिन पनि छ । विषयगत कामले नै व्यक्तिलाई विज्ञतातर्फ उन्मुख गराउँछ । हुनतः जर्नालिज्मलाई जनरलाइज्म अर्थात सबै कुराको ज्ञान हुनुपर्ने अर्थमा पनि लिइन्छ । अब एक पत्रकारले सबै विषयमा जान्नै पर्छ भन्ने पनि छैन । नेपालमा ‘बिट’ अर्थात विषयमा पत्रकारिता गर्ने अभ्यास शुरु भैसकेको छ । जस्तो, शिक्षा, स्वास्थ्य, खेलकुद, अन्य सामाजिक विषयहरु । तर हामीले शुरु गर्न लागेको विषय यि भन्दा अलि फरक छ । यो अर्को नयाँ अभ्यास पनि हुन सक्छ । हामी विकास पत्रकारिताकै एउटा अंगलाई पछ्याउने क्रममा लागेका छौं । यो अभ्यास गर्न नै हामीले पािलका प्रेस डटकमको शुरुवात गरेका हौं । हामी स्थानीय पालिका (स्थानीय तह) हरु केन्द्रित विषयवस्तुलाई उठान गछौं । यद्यपि अन्य विषयवस्तु हाम्रा समाचार हुँदै हुँदैनन् भन्ने भने होइन । यो चाहिँ हो कि ‘ति विषय पालिका प्रेसको प्राथमिकतामा पर्दैनन् ।’ हामी पालिकाको राम्रा काम, सुशासनका अभ्यास र सकारात्मक प्रयासलाई प्राथमिकतामा राख्नेछौँ । राज्य संयन्त्रको सबैभन्दा तल्लो निकाय पालिकालाई जिम्मेवार बनाउने भूमिकामा हाम्रो पत्रकारितको यात्रा अघि बढ्ने छ । हामी विभिन्न विषय/मुद्दालाई विविध कोणबाट व्याख्या गरी सम्बन्धित निकायको ध्यानाकर्षण मात्र होइन, उनीहरूलाई जिम्मेवार बनाउनेछौँ । जनजीविकाका सवालमा देखिएका समस्या समाधान गर्न सम्बन्धित पक्षलाई झकझक्याइरहनेछौँ । र, अन्ततः आमनागरिकको सुखदुःखको सारथि बन्नेछौँ, यो हाम्रो यात्रा र गन्तव्य दुवै हो ।

नेपालको संविधान जारी भएपश्चात् कार्यान्वयनमा आएको संघीयताका क्रममा स्थानीय तहका काम र तिनले पारेको प्रभाव अनि गर्न नसकेको कामलाई कसरी गर्न सकिन्छ भन्ने सवाल हाम्रो समाचारका विषय वस्तु बन्नेछन् । अझ भनौ पालिकाहरुले गरेका सकारात्मक परिवर्तन हाम्रा प्रथम विषयवस्तु बन्नेछन् । संघ, प्रदेश र स्थानीय पालिकाले संचालन गर्ने गतिविधि, सेवाप्रवाह र कार्यसम्पादनमा हाम्रो निगरानी रहने छ । संविधानको अनुसूची ८ मा रहेको एकल अधिकार सूची र अनुसूची ९ मा रहेको साझा अधिकारका सूचीहरुलाई कार्यान्वयनमा हामी सँधै खबरदारी गर्नेछौं । यसको अर्थ स्थानीय तहलाई लखेट्ने प्रवृत्ति हैन कि उसबाट प्रवाह हुने सेवा र कार्यसम्पादनलाई सहजै नागरिक समक्ष पु¥याउन हाम्रो अभियान जारी रहने छ । आमनागरिकले प्राप्त गर्नुपर्ने सेवा प्रवाहमा देखिएका र भइरहेका जटिलतालाई चिर्दै राज्य संयन्त्रलाई जवाफदेही बनाउनेमा हाम्रो ध्यान जानेछ । प्रकाशकीय ट्रेण्डमा रहेको एउटा सवाल छ, राष्ट्रिय, प्रदेश कि स्थानीय स्तरको ? यसमा हाम्रो सजिलो जवाफ छ,–‘हामी संघीयस्तरका हौं ।’ अनलाइन पत्रकारिताको कुनै भौगोलिक सीमा हुँदैन । प्रविधिमा आएको व्यापकताले अनलाइन पत्रकारितालाई आम मानिसको अनिवार्य जीवनशैलीझैँ बनाइदिएको छ । पल–पलमा सूचना प्रवाहित गर्ने, विश्लेषण गर्ने र निकायहरूलाई जिम्मेवार बनाउने दिशामा हामी प्रतिवद्ध हुनेछौं । किनभने हामी देशभरका समाचार पालिका प्रेसमा प्रकाशन गछौं । हुनत हामी समू गतिलै चुनौति छ । मकवानपुरको त्यो पनि ग्रामिण क्षेत्रमा रहेर हामी देशभरका खबर तपाई सामु पु¥याउँछौं भन्ने प्रतिवद्धता चानचुने होइन । देशकै पहिलो मानव निर्मित ताल कुलेखानी (इन्द्रसरोवर)संगै रहेको हाम्रो कार्यालयबाट सूचना तथा सन्देश प्रवाह भैरहँदा हामी पुर्वको ताप्लेजुङ, पाँचथर, झापा मोरङ तथा सुदुरपश्चिम प्रदेशका हिमाली गाउँपालिका होस वा बैतडीको पाटन नगरपालिका हामी सबै पालिकाहरुको खबर तपाइहरु सामु निरन्तर प्रस्तुत गरिहने छौं । हाम्रा प्रत्येक पालिकाका कर्मचारी अनि जनप्रतिनीधि समाचारका स्रोत हुनेछन् । पालिकाका बासिन्दा त्यसका पाठक हुनेमा हामी विश्वस्त छौं । हामी पत्रकारिताको धर्म छाड्दैनौं । हाम्रो यस अभियानलाई सफल पार्न हाम्रो सबैभन्दा ठूलो प्रेरणाको स्रोत तपाईं आमपाठक हुनुहुन्छ । यसका साथै समाचारदाता, सुझावदाता, विचारदाता एवं विज्ञापनदाताका रूपमा हामीलाई यात्रामा प्रेरित गरिरहनुहुनेछ भन्नेमा विश्वस्त छौँ । हामी सँधै यहाँहरूको आलोचनात्मक, रचनात्मक सल्लाह–सुझाव पालिका प्रेस टिम आशा गरिरहनेछौं ।

मणिराज थापा
(सम्पादक)

मणीराज थापा
थप जानकारी