मकवानपुरको बागमती गाँउपालिकाले शिक्षक बैंक स्थापना गर्ने भएको छ । पालिकास्तरीय शिक्षा समितिको गत १७ चैतमा भएको निर्णय अनुसार “शिक्षक बैंक ब्यवस्थापन कार्यबिधि, २०८०” बमोजिम शिक्षक बैंक स्थापना गर्ने भएको हो ।

शिक्षक बैंक अन्तर्गत “शिक्षक प्रतीक्षा सुचि” रहनेछ । पालिका अन्तर्गत रहेका सामुदायिक विदयालयमा कार्यरत शिक्षक लामो समय विदामा बस्दा विदा अवधिभर उक्त प्रतीक्षा सुचिमा सुचिकृत शिक्षकलाई खटाईने जनाईएको छ । शिक्षक लामो समय विदामा बस्दा नियमित पठन–पाठनमा पर्ने प्रतिकुल असरलाई व्यवस्थित गरि पठन–पाठन कार्यलाई नियमित्ता प्रदान गर्ने उदेश्यका साथ शिक्षक बैंक स्थापना गर्नु पर्ने भएको सुचनामा उल्लेख गरिएको छ ।

सामुदायिक विदयालयका शिक्षकहरुले शिक्षा ऐन तथा नियमावली बमोजिम पाउने विविध प्रकारका बिदाहरु कुनै न कुनै बेला उपयोग गर्छन् । कतिपय विद्यालयमा रिक्त अस्थाई दरबन्दी रहेको अवस्था पनि छ । सो अवस्थामा यस शिक्षक बैंकले दैनिक शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिने र नव शिक्षकहरुलाई थप शिक्षणको तयारी सँगै आर्थिक रुपमा पनि टेवा पुग्ने सामाजिक विकास शाखा संयोजक कमान सिं पाख्रिनले बताउनु भएको छ ।

सुचनामा बालविकास केन्द्र सहजकर्ता, प्रा.वि., नि.मा.वि र मा.वि. तहका लागि दरखास्त आह्वान गरिएको छ । बालविकास र गापा अनुदानका लागि स्थाई अध्यापन अनुमती पत्र अनिवार्य गरिएको छैन । अस्थाई र करारको लागि भने ऐन तथा नियमानुसार सिफारिस हुने जनाईएको छ ।

नि.मा.वि.र मा.वि. तहको लागि विषयगत शिक्षक माग गरिएको छ । जसमा अंग्रेजी, गणित, विज्ञान र कम्प्युटरका लागि बिषयगत रुपमा दरखास्त दिन सकिनेछ । शिक्षक बैंक अन्तर्गत रहने शिक्षक प्रतीक्षा सुचिमा सुचिकृत हुन ईच्छुक र योग्यता पुगेका व्यक्तिहरुका लागि पालिकाले दरखास्त आह्वान गरेको छ । दरखास्तको समय सुचना प्रकाशित मितिबाट १५ दिन भित्र सानिमा बैंकमा रहेको पालिकाको आन्तरिक राजश्व शिर्षकमा जम्मा गरिएको भौचर सहितको दरखास्तको लागि बागमती गाँउ कार्यपालिकाको कार्यलयमा सम्पर्क गर्न भनिएको छ ।

बागमती गाँउपालिका भरि जम्मा ५० वटा सामुदायिक विद्यालयहरु छन । जस अन्तर्गत प्रा.वि ३५ वटा, निमावि १० वटा र मावि ५ वटा रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पालिका प्रेस
थप जानकारी