मकवानपुर जिल्लास्तरीय खुल्ला कराते प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाले हात पारेको छ । जिल्लाको थाहा नगरपालिकाको पालुङ क्याम्पसको खेल मैदानमा १५ वैशाखमा भएको प्रतियोगितामा ९ स्वर्णसहित ७ रजत तथा ७ कास्य पदक हात पार्दै उपाधि चुमेको हो ।

थाहानगर खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ स्वर्ण पदक हात पार्दै स्वच्छन्द भैरव कराते डोजो थाहानगर चित्लाङ टिम दोस्रो भएको छ । स्वच्छन्दले २ रजत र ९ कास्य हात पारेको छ । ३ स्वर्ण पदक ,४ रजत पदक र ६ कास्य जित्दै थाहा कराते डोजो तेस्रो भएको छ ।

 

प्रतियोगितामा पुरुष तर्फ स्वच्छन्द भैरव डोजोका इनेश बलामी उत्कृष्ट खेलाडी घोषित भए । थाहा डोजोकी सुस्मिता दोङ महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । विजेता खेलाडी तथा उत्कृष्ट टिम र खेलाडीलाई शिल्ड मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । १५ वैशाखमा एक समारोहकाबीच थाहा नगरपालिकाका नगर उपप्रमु्ख भरत गोपालीले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै गोपालीले थाहा नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्दै आएको बताए । गोपालीले नगरमा आयोजना हुने सबै खेललाई समान महत्व दिएको धारणा राखे । उनले खेलाडी राष्ट्रका गहना भएकाले अनुशासित भएर खेल्नु पर्नेमा सुझाव दिए ।

प्रतियोगितामा मकवानपुर जिल्लाका ६ पालिकाका ९ वटा डोजोको सहभागिता रहेको प्रतियोगिताका संयोजक मानसिं दोङले जानकारी दिए । प्रतियोगितामा बकैया डोजो, स्वच्छन्द भैरव डोजो, थाहा डोजो, लेवट डोजो, मकवानपुर डोजो, बज्रवाराही डोजो, बागमती डोजो, हेटौंडा डोजो, थानाभ¥याङ डोजो र गढी डोजोको सहभागिता रहेको थियो।

थाहानगर खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा थाहा ९ का अध्यक्ष राजकुमार बलामी, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट, सुन्दरीदेवी माविका प्रअ हरिकृष्ण कार्की, प्रशिक्षणक तथा रेफ्रीहरु, स्थानीय संघसंस्थाका प्रतिनीधिहरुलगायतको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी