मकवानपुर जिल्लाकै सबैभन्दा अग्लो स्थान सिमभन्ज्याङमा समाजसेवी सिद्धिलाल श्रेष्ठ र बविता श्रेष्ठ दम्पतीले बुद्धको मूर्ति स्थापना गरेका छन् । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले १० जेठमा मुर्तिको अनावरण गरेका छन् ।

थाहा नगरपालिका–४ सिमभन्ज्याङमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ निवासी श्रेष्ठ दम्पत्तीले साढे १८ फिट उचाईको बद्धको मूर्ति स्थापना गरेका हुन् । पर्यटकीय क्षेत्र सिमभन्ज्याङको सानो समथर थुम्कोमा बुद्धको मुर्ति स्थापना गरिएको छ । मुर्तिको अनावरण गर्दै नगर प्रमुख विष्टले पर्यटकीय क्षेत्रमा बुद्धको मूर्ति स्थापना गरेर आन्तरिक एवं वाह्य पर्यटकहरुलाई आकर्षित गर्न योगदान पु¥याएकोमा श्रेष्ठ दम्पत्तीप्रति आभार व्यक्त गरे । स्थापना गरिएको बुद्धको मूर्तिको संरक्षणको जिम्मा स्थानीयवासी र पालिकाले लिनेसमेत नगर प्रमुख विष्टले प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्रिभुवन राजपथको सडक छेउको थुम्कोमा निर्माण गरिएको वृद्धको मूर्तिले खास गरी वौद्धमार्गीहरुलाई सिमभन्ज्याङ क्षेत्रमा आकर्षण गर्ने थाहा नगरपालिका ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीले प्रतिक्रिया दिए । करुणाभूमि सामुदायिक वनका अध्यक्ष बिनोद लामाले भने–‘बुद्धको मूर्ति यस क्षेत्रमा स्थापना गरिएको छैन, यो नै पहिलो हो यसले पर्यटकलाई आकर्षण गर्न मद्दत गर्छ ।’ नजिकैको पर्वतीय ताल, ऋषेश्वर र स्थानीय पदमार्गलाई पर्यटकीय दृष्टिकोणले जोड्न सहयोग हुने लामाको विश्वास छ ।

श्रेष्ठ दम्पतीले करिब १५ लाखको लागतमा उक्त मूर्ति निर्माण गरेर स्थापना गरेका हुन् । बुद्धको मूर्तिको अनावरण र प्राण प्रतिस्थापनपश्चात स्थानीयबासी मूर्तिमा पुजाआज गर्न भीड लागेका थिए । मकवानपुरगढी–७ का हर्करत्न भुलुनले ६ महिना लगाएर उक्त बुद्धको मूर्ति बनाएका हुन् । सिमभन्ज्याङमा स्थापना गरिएको बुद्धको मुर्ति परिसरलाई बुद्ध पाकर्ककै रुपमा संरक्षण र प्रवद्र्धन गर्नका लागि अमित पाख्रिनको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष सोमलाल गोले, कोषाध्यक्ष शान्ति सिन्तान, सचिव विन्द्र बहादुर पाख्रिन, सदस्य प्रेम भोम्नजन, अन्जली लो र सन्तोषी भुजेल रहेका छन् । समितिको सल्लाहकारमा सीताराम सिन्तान र इन्द्र बहादुर पाख्रिन रहेका छन् । समिति बुद्धको मुर्ति स्थापनाका लागि निर्माण स्थल व्यवस्थापन, गिट्टी, ढुाङ्गा र बालुवा सहयोग गरेको अध्यक्ष पाख्रिनले जानकारी दिए ।

श्रेष्ठ दम्पतीले हेटौंडा उपमहानगरपालिका–११ राप्ती पुल नजिकै बुद्धको मूर्ति स्थापना गरेर आकर्षक बुद्ध पार्क निर्माण गरेका छन् ।

हेर्नुहोस फोटोहरुः
फोटोः गणेश विष्ट/पालिका प्रेस

गणेश विष्ट
थप जानकारी