
कुलेखानी जलासयमा पानीको सतह घटेपछि स्थानीयले केज निर्माण गरेर गरिएको माछापालन पनि प्रभावित भएको छ । करिव ४ सय परिवारले कुलेखानी जलासयभित्र केजमा माछापालन गर्दै आएका छन् ।
जलासयमा खुला रुपमा पछिल्लो पटक ९ लाख माछाका भुरा छोडिएको छ । इन्द्रसरोवर रिजर भ्वायरको जलीय जैविक विविधता संरक्षणका लागि ९ लाख २० हजार माछाको भुरा छाडिएको हो । मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले ८ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडाले एकलाख २० हजार माछाका भुरा कुलेखानी जलासयमा छाडेका हुन् । मत्स्य विकास केन्द्र, कुलेखानीका निमित्तप्रमुख मनिता पौडेलका अनुसार सिल्भर कार्प २ लाख, विगहेड २ लाख, कपन कार्प १ लाख, नैनी, रुबु २ लाख र ग्रास कार्प १ लाख माछाको भुरा छोडिएको हो ।
प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडाका बरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवका अनुसार रहू तथा नैनी प्रजातिका माछाका भुरा एकलाख २० हजार छाडिएको हो । नेपाली सेना, स्थानीय, कर्मचारी र सरोकारवालाको सहयोगमा माछाको भुरा जलाशायसम्म लगेर छाडिएको थियो । मत्स्य विकास केन्द्र, कुलेखानीले मत्स्य विकास केन्द्र भण्डाराबाट ५ लाख र हीरा मत्स्य ह्याचरीबाट ३ लाख माछाको भुरा खरिद गरेको बताइएको छ । यसअघि प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडाले बागमती नदीमा रहू तथा नैनी प्रजातिका एकलाख २५ हजार माछाका भुरा छोडेको थियो ।
केन्द्रले प्राकृतिक जलाशायमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवनस्तर उकास्नको लागि स्थानीय जातका माछाका भुरा बागमती नदीमा छाडेको थियो । मत्स्य विकास केन्द्र, कुलेखानीले अघिल्लो आर्थिक वर्षमा १० लाख माछाको भुरा छाडेको निमित्त प्रमुख पौडेलले जानकारी दिइन् । केन्द्रले चालु आवको जेठ मसान्तसम्म २ हजार ६६ केजी माछा उत्पादन गरेर विक्री गरी ५ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
अघिल्लो आव २०७९÷८० मा २ हजार ५१० केजी माछा उत्पादन गरेको कार्यालयले यसवर्ष अझै उत्पादन बढ्ने विश्वास लिएको छ । यहाँ उत्पादन भएका माछा स्थानीयस्तरमै खपत हुने गरेको छ । सिल्भर, विगहेड प्रतिकेजी २५० रुपैयाँ र केजमा पालेको माछा प्रतिकेजी २३० र कमन कार्प, रुहु, नैनी प्रतिकेजी ३०० का दरले स्थानीयस्तरमै विक्री हुनेगरेको पौडेलको भनाई छ । पर्यटकको रोजाइको क्षेत्र भएकाले यहाँ आउने पर्यटकले यहाँको माछा अत्यधिक मन पराउने गरेको होटल व्यवसायी यूनिक बिष्टले जानकारी दिए । वि.स.२०४५ सालदेखि निजीस्तरमा कृषकलाई प्रविधि सिकाई केजमा माछापालन कार्यको थालनी गरिएको थियो । वि.सं. २०६६ सालमा ६८५ जना शेयर सदस्य सहित इन्द्रसरोवर मत्स्य व्यवसायी संघको स्थापना गरी जलासयमा केजमा माछापालन हुँदै आएको छ ।
इन्द्रसरोवर रिजरभ्वायर विद्युत उत्पादनको उद्देश्यले कुलेखानी खोलामा ड्याम वनाई निर्माण गरि एको मानव निर्मित नेपालकै ठुला जलासय हो । यसमा पानी जम्मा पार्नलाई पालुङखोला, चित्लाङखोला, सेतीखोला, चखेल इनलेट, चल्खुखोला, ठाडोखोला र धस्कुखोला गरी ७ वटा जलाधार श्रोत छन् । समुद्री सतहदेखि १५३० मिटर उचाईमा यो जलासय रहेको छ । जलासयमा पूर्णरुपमा पानी भरिएको समयमा २१६ हेक्टर र हिउँदमा ५५ हेक्टर पानी रहेको हुन्छ । विद्युत उत्पादनको अतिरिक्त पानीको बहुआयामिक उपयोग गरी आयोजनाकालमा विस्थापित भएका सरोकारवाला कृषकलाई स्थानीयस्तरमै वैकल्पिक रोजगारी प्रदान गर्ने तथा प्राणी प्रोटीनको उपलब्धतालाई बढाउने उद्देश्यले केजमा माछापालन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्