मकवानपुर थाहा नगरपालिकाको १२ वडाका ८ सय ८३ जना सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क संकलनसहित बायोमेट्रिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्राविधिक सहयोग तथा थाहा नगरपालिकाको व्यवस्थापनमा आयोजित विशेष शिविरमा प्रमुखतः ज्येष्ठ नागरिकहरुले यो सुविधा लिएका छन् ।

  विशेष शिविरमा सबैभन्दा बढि वडा नम्बर २ का १ सय ५५ जनाले सुविधा लिएका छन् भने सबैभन्दा कम वडा नम्बर ८ का ३५ जनाले सेवा लिएको अभिलेख छ । वडाहरुलाई पायक पर्ने स्थानमा राखिएको शिविरमा वडा नम्बर १ का ८७ जना, वडा नम्बर ३ का ७०, वडा नम्बर ४ का ७७, वडा नम्बर ५ का ४७, वडा नम्बर ६ का ६७ जनाले सुविधा लिएका छन् । त्यस्तै वडा नम्बर ७ का ४०, वडा नम्बर ९का ५४, वडा नम्बर १० का ४३, वडा नम्बर ११ का ९६ र वडा नम्बर १२ का १ सय १२ तथा विशेष अवस्थाका ८ जनाले सुविधा लिएका छन् ।

वडाध्यक्षहरुले शिविरका प्राविधिक टोलीलाई व्यवस्थापन गरेका थिए । कतिपय वडाहरुले शिविरमा पुगेका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई खाजा तथा यातायात सेवाको समेत व्यवस्था गरेको एमआइएस सेवा इकाई थाहा नगरपालिकाका एमआइएस अपरेटर रुपक कार्कीले जानकारी दिए । वडा सचिवहरुले समेत शिविरमा समन्वय र सहयोग गर्दै कार्यालयबाट प्रवाह हुने घटना दर्ताको काम समेत शिविरमै बसेर गरेका थिए । कार्कीले भने–‘राष्ट्रिय परिचयपत्रको विशेष शिविर सफल पार्नका लागि वडा अध्यक्ष, सदस्य, वडा सचिवहरुले धेरै सहयोग गर्नुभएको छ ।’ उनले भने–‘९० वर्ष माथिका, अशक्त, असाहय र अपाङग्ता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य थिएन तर आउनु भएका ज्येष्ठ नागरिकलाई हामीले यस्सै फर्काएनौं ।’ पालिकाबाट एमआइएस अपरेटर कार्की, फिल्ड सहायक अच्युत विडारी र नगर प्रहरी शिविरको दशै दिन विहानैबाटै बेलुकी अबेरसम्म खटिएका थिए ।

ज्येष्ठ नागरिकहरुको व्यवस्थापन गर्न शुरुमा कठिनै भयो, पछि त सबैको सहयोगले सहजै हुँदै गएको बताउँदै १० दिने शिविरको अनुभवका क्रममा एमआइएस अपरेटर रुपक कार्कीले भने–‘काम सकिएपछि बुढाबुढीहरुले आशिष दिनूहुने त्यसमै खुशी मान्यौं ।’ शिविर टोली र जनप्रतिनीधिहरुले गरेको सहयोगको ज्येष्ठ नागरिकहरुले खुलेरै प्रशंसा गरेको एमआइएस अपरेटर अच्युत विडारीले सुनाए ।

प्रत्येक दिन स्टेशन सार्नुपर्ने, ‘इक्युपमेन्ट’ ओसार्न पर्ने अवस्थामा समेत नगरपालिकाले निकै सहयोग गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट खटिएका टोलीको नेतृत्व गरेका आशिष पौडेलले बताए । पौडेललेले थाहा नगरप्रति खुशी व्यक्त गर्दै भने–‘सरकारले विशेष शिविर भनेर राखिएको यस कार्यक्रममा कतिपय पालिकाले जिल्ला प्रशासनको कार्यक्रम भन्ने प्रतिक्रिया दिने गरेको भएपनि थाहामा आफ्नोपन सहित एमआइएस सेवा इकाइ र जनप्रतिनीधिहरुबाट धेरै सहयोग प्राप्त भएको छ ।’ शिविरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पौडेलसहित ३ जना खटिइ थाहामा आएका थिए ।

आर्थिक वर्ष २०८१/२०८२ को लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय भएपछि यस किसिमको विशेष शिविर आयोजना गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ । आगामि आर्थिक वर्षका लागि साउन १ गतेदेखि भाद्र मसान्तसम्म लाभग्राहीहरुले आफ्नो वडामा पुगेर सामाजिक सुरक्षा भत्ता लाचग्राही कार्ड नविकरण गर्नुपर्ने कानूनी व्यवस्था छ । त्यसोतः यस आर्थिक वर्ष २०८१/०८२ बाट वडामा निवेदन दिई लाभग्राही आफै उपस्थित भएर राष्ट्रिय परिचयपत्र नम्बर सहित औठा छाप लिई ‘बायोमेट्रिक’ गर्ने नियम आएको छ ।

थाहा नगरपालिकाको १२ वटा वडामा विभिन्न ७ किसिमका ४ हजार ४ सय ३६ सामाजिक सुरक्षा भत्ताका लाभग्राही छन् । यस अन्तर्गत ज्येष्ठ नागरिक २ हजार ६ सय ३१ जना, ज्येष्ठ नागरिक दलित १ सय ७, ज्येष्ठ नागरिक एकल महिला ४ सय ७६, विधवा ८ सय १४, पूर्ण अपाङ्ग ६६, आंशिक अपाङ्ग २ सय २२ र दलित बालबालिका १ सय २० जना रहेको एमआइएस सेवा इकाइ थाहा नगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी