थाहा नगरपालिका स्वास्थ्य शाखाले आर्थिक बर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षा गरेको छ । शाखाले ५ र ६ भाद्रमा नगरपालिकाको सभाहलमा कार्यक्रमको आयोजना समीक्षा गरेको हो । समीक्षामा शाखा प्रमुख मेघराज बलामीले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा थाहा नगरपालिका प्रमुख बिष्णु बहादुर बिष्ट, उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी तथा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजार, स्वास्थ्य कार्यालय मकवानपुरका तथ्यांक अधिकृत भागिरथ प्रसाद रौनियारका साथै वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र स्वास्थ्यकर्मीहरुको उपस्तिथि रहेको थियो।
शाखा प्रमुख बलामीले नगर भित्र रहेका १२ वटा स्वास्थ्य संस्था, सहरी स्वास्थ्य केन्द्र, आर्युवेद औषधालय, तिलगंगा आँखा केन्द्र तथा निजि पोलिकिल्निक थाहा पोलिकिल्निक, अक्युपन्चर सेवासहित विद्यालय नर्सहरुको वार्षिक कार्यप्रगती तथा समीक्षा प्रस्तुत गरे । स्वास्थ्य केन्द्र हरुको अवस्था, बजेट र खर्चको अवस्था तथा भौतिक र वित्तीय प्रगति विवरणहरु समेत उनले प्रस्तुत गरेका थिए । यसका साथै औषधि तथा उपकरणको अवस्था, सेवाग्राहीलाई दिने सेवाको अवस्था, स्वास्थ्य केन्द्रले दिने सेवा सुबिधा खोप, सुत्केरी, गर्भपतन, परिवार नियोजनका तथा जनस्वास्थ्यको अवस्था विषयमा पालिका अन्तर्गतका १२ वटै स्वास्थ्य संस्थाका प्रमुखहरुले आआफ्नो प्रस्तुत गरेका थिए।

दुईदिनसम्म सञ्चालन भएको समीक्षामा शाखा प्रमुख बलामीले समग्र पालिकाको प्रस्तुतिकरणमा चुनौतीको रुपमा पालुङ अस्पतालमा विशेषज्ञ सहितका एमडिजिपी मेडिकल अधिकृतबाट सेवा प्रवाह गर्न जरुरी रहेको बताए । सामाजिक आर्थिक, शैक्षिक अवस्थालाई सुधार परिवर्तन तथा नियन्त्रण गरेर स्वास्थ्य रक्षा र सुधार गर्न स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा जोड दिदै आधुनिक स्वास्थ्य शिक्षा सामाग्रीहरुको आवश्यकता रहेको बताए ।

घरमा सुत्केरी शुन्य गर्न एम्बुलेन्स सेवा निःशुल्क गर्नुपर्ने, प्रसुती प्रतीक्षालय निर्माण गरि बस्ने कक्षको व्यबस्थापन गर्नुपर्ने शाखाको आगामी चुनौती रहेको बताउदै नगरका १० स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसारको भवनमा रहेको, क्लिनिक, वर्थिङ सेन्टर सबै स्वास्थ्य संस्था १२ वटै वडामा रहेको, अक्सिजन प्लान्ट सुरु गरिएको, पुर्ण खोप पालिका घोषणा, घरमा शून्य सुत्केरी घोषणा कार्यक्रमसहित गुणस्तरीय खोप सेवाको लागि १० स्थानमा आइएलआरको व्यबस्था रहेको सकारात्क सूचकहरु सुनाए ।
बलामीले १२ वटा स्वास्थ्य संस्थाका प्रमुखहरु, निजि स्वास्थ्य संस्थाका प्रमुख र विद्यालय नर्सले जनताको आधारभुत आवश्यकता माथी ध्यान दिन वडा अध्यक्षहरुको ध्यानाकर्षण गरेका थिए । वार्षिक समिक्षा कार्यक्रममा नगर प्रमुख बिष्णु बहादुर बिष्टले वार्षिक रुपमा गरेको कामको समीक्षासंगै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । उनले आमनागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै राज्यले प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र अवधारणा अगाडि सारेको बताए । विष्टले आमनागरिकले स्थानीय तहमै औषधी उपचार पाउन भनेर थाहाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य बीमाको पहिलो विन्दुको रुपमा स्थापित गरेको बताए । नगर उपप्रमुख भरत गोपालीले थाहा नगरपालिका भित्र रहेको स्वास्थ्य संस्थाहरुप्रती नागरिकको विश्वास बढाउन सबैको पहलहुनुपर्नेमा जोड दिए।

समिक्षा कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले वार्षिक समिक्षामा नगरपालिका मार्फत् स्वास्थ्य संस्थासम्म भएका गरेका कार्यक्रमको समीक्षा गर्दै आगामी वर्ष अझ प्रभावकारी कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले स्वास्थ्यकर्मीले राम्रो काम गरेको बताए । थाहा नगरका स्वास्थ्य संस्थाहरुको गतिविधि विश्वसनीय र सेवाग्राहीप्रति प्रभावकारी रहेको उनको भनाइ थियो ।
























































प्रतिक्रिया दिनुहोस्