मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका–९ साबिकको चित्लाङ गाविस–२ नयाँ पौवास्थित खोला तर्न स्थानीयले जोहो गरेको ‘ढुंगे साँघु’ अहिले धेरैको आकर्षणको केन्द्र बनेको छ । वि.सं. १९५० तिर स्थानीयले खोला तर्न सहज होस् भनेर ‘ढुंगे साँघु’ हालेको पुराना बुढापाकाहरू बताउँछन् । ‘ढुंगे साँघु’ १० मिटर लम्बाइ र डेढ मिटर चौडाइको रहेको स्थानीय बुद्धरत्न मानन्धरले बताए ।

विगतदेखि अहिलेसम्म पैदल यात्रुहरू यही ‘ढुंगे साँघु’ भएर आवतजावत गर्छन् । करिब १ सय ३१ वर्षअघिदेखि संचालनमा आएको यो साँघुको कसैले मर्मत गर्नु परेको छैन र जोखिम पनि मोल्नु परेको छैन । त्रिभुवन राजपथ संचालनमा आउनुअघि राजधानी आवतजावत गर्ने मुख्य प्रवेशद्वारका रूपमा चित्लाङ–चन्द्रागिरी रहेको थियो । चित्लाङ–चन्द्रागिरी भएर राजधानी आवतजावत गर्ने स्वदेशी एवं विदेशी सबै पैदल यात्रुले यही साँघु प्रयोग गर्थे ।

चित्लाङ अहिले पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको छ । यहाँ आउने स्वदेशी एवं विदेशी पर्यटक ढुंगाको यतिलामो साँघु अर्थात् पुल देखेर अचम्मित हुने गरेका छन् । १ सय ३१ वर्षभन्दा अघि यो ढुंगाको साँघु हालेको जानकारी गराएपछि त उनीहरू झन् छक्क पर्ने गरेका छन् । चित्लाङ आएका जो कोही पनि यो ढुंगे साँघु हेर्न जाने गर्छन् ।

‘साँघु हाल्ने, बोकेर यहाँ ल्याउने र ढुंगा फोड्ने अहिले यहाँ कोही पनि जीवित छैनन्,’ ७७ वर्षीय धनबहादुर लामाले भने, ‘मेरो बालगायत १०/१२ जनाले छिनोले ढुंगा खिपेर साँघु बनाएको कुरा बाले सुनाएका थिए ।’ अहिलेजस्तो ढलान गरेर पक्की पुल बनाउने चलन त्यतिबेला थिएन । त्यतिबेला गाउँलेहरूले आफ्नै तरिकाले काठ र ढुंगाको साँघु बनाएर खोला वारपार गर्थे । काठको साँघु दुई वर्ष पनि नटिक्ने भएकाले पाएसम्म खोलामा ढुंगाको साँघु हाल्ने गरेको स्थानीय बताउँछन् । त्यही साँघुमध्ये चित्लाङको यो सबैभन्दा लामो र पुरानो साँघु भएको ७८ वर्षीय धर्म मानन्धरले सुनाए । यति लामो र पुरानो ढुंगाको साँघु चित्लाङमा मात्र होइन, मकवानपुरमा नै नभएको उनको दाबी छ ।

चित्लाङस्थित चन्द्रागिरिको पाखाबाट ठूलो अजंगको ढुंगा घनले फोडेर र छिनाले काटेर लामो र साँघुको आकार बनाएको पनि उनले सुनाए । स्थानीयवासीले महिनौं दिन लगाएर साँघुको आकारको ढुंगा बनाएपछि फराकिलो बाटो भएको स्थानमा नोल लगाएर बोकेर र सानो बाटोमा घिसारेर साँघु पौवा खोलामा ल्याएर राखेको ८५ वर्षीय बाबुकाजी मानन्धरले बताए । ‘मैले पनि साँघु हालेको देखेको होइन, बाआमाले भनेको सुनेको हुँ, सानैदेखि म पनि यो ढुंगे साँघु तर्दै आएको छु ।’

चन्द्रागिरिको काखमा रहेको चित्लाङ ऐतिहासिक थलो हो । प्राकृतिक, धार्मिक र ऐतिहासिक वस्तुहरूले चित्लाङ भरिभराउ छ । थानकोटदेखि चन्द्रागिरीसम्मको केवलकार र थानकोटदेखि चित्लाङसम्मको सडक मार्गले चित्लाङ पर्यटकहरूको गन्तव्यस्थल बनेको छ । चित्लाङमा अहिले ३५ वटा होमस्टे र ८ वटा रिसोर्ट संचालनमा छन् । हिउँद या वर्षायाम होस्, शुक्रबार र शनिबार यहाँका होमस्टे र होटल तथा रिसोर्ट भरिभराउ हुने गरेका छन् ।

-इकान्तिपुरबाट
पालिका प्रेस
थप जानकारी