वीरगञ्ज महानगरपालिकामा दुई वटा बर्थिङ सेन्टर शिलान्यास गरिएको छ । वडा नम्बर १७ अलौ र वडा नम्बर २६ सुगौली बिर्तामा बन्न लागेको बर्थिङ सेन्टरको महानगर प्रमुख विजयकुमार सरावगीले शिलान्यास गरे । नगर क्षेत्रमा स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहन गर्नुका साथै सुरक्षित प्रसूती सेवा दिने उद्देश्यले बर्थिङ सेन्टर निर्माण गर्न लागिएको महानगर प्रमुख सरावगीले बताए ।

वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्राले बर्थिङ सेन्टर तयार भएपछि वडाबाटै सामान्य प्रसूति सेवा दिइने जानकारी गराए । ‘गाउँघरमा सुत्केरी ब्यथाले च्यापेपछि रातबिरात वीरगञ्ज लैजानुपर्ने अवस्था छ,’ उनले भने, ‘राती एम्बुलेन्स खोजेर गर्भवती महिलालाई अस्पताल पु¥याउन गाह्रो हुन्छ । वडामै बर्थिङ सेन्टर तयार भएपछि यो समस्याबाट छुटकारा मिल्नेछ ।’ बर्थिङ सेन्टर तयार भएपछि आवश्यक जनशक्ति माग गरेर सञ्चालनमा ल्याइने उनको भनाइ छ । वीरगञ्ज महानगरको पूर्वाधार विकास शाखाका अनुसार राष्ट्रिय योजना आयोगको विशेष अनुदानबाट नगर क्षेत्रमा ५ वटा बर्थिङ सेन्टर निर्माण गर्न लागिएको छ । वडा नम्बर २२ जगरनाथपुर, वडा नम्बर २६ सुगौलीबिर्ता, वडा नम्बर १७ अलौ, वडा नम्बर ३१ बेल्वा र वडा नम्बर २९ बसडिल्वामा चालू आवभित्रै बर्थिङ सेन्टर निर्माण गर्ने गरी काम अघि बढाइएको छ । ५ वटा बर्थिङ सेन्टर बनाउने जिम्मा पीएम सप्तपथड्रामा जेभीले पाएको छ । उसले ३ करोड ६८ लाख ८ हजार ४ सय रुपैयाँमा ५ वटै बर्थिङ सेन्टर तयार पार्नेछ । बाँकी तीन बर्थिङ सेन्टर निर्माण पनि छिट्टै सुरु हुने महानगरका इन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार महानगरले तयार पारेको डिजाइनअनुसार नै निर्माण कम्पनीले बर्थिङ सेन्टर बनाउनेछ ।

महानगरले प्रतिबर्थिङ सेन्टर निर्माण लागत १ करोड ११ लाख रुपैयाँ अनुमान गरेको थियो । १ तले पक्की बर्थिङ सेन्टर भवन सुविधासम्पन्न हुने सहरी पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिनियर राकेश साहले बताए । बर्थिङ सेन्टरमा प्रि–डेलिभरी, पोस्ट डेलिभरी, जाँच कक्ष, ड्रेसिङ रुम, ल्याब, स्टोर, प्रशासनिक काम गर्न छुट्टाछुट्टै कोठा र शौचालय व्यवस्था हुनेछ । १६ ग्रामीण वडासहित ३२ वडा रहेको वीरगञ्जमा हाल दुई मात्रै बर्थिङ सेन्टर सञ्चालनमा आएका हुन् । वडा नम्बर २८ स्थित बगही प्राथमिक स्वास्थ्य केन्द्र र वडा नम्बर २१ लिपनीबिर्तास्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छ । वीरगञ्ज बजार क्षेत्रमा नारायणी अस्पताललगायत विभिन्न निजी अस्पताल तथा क्लिनिकले विशेषज्ञ डाक्टरमार्फत प्रसूति सेवा दिँदै आएका छन् ।

पालिका प्रेस
थप जानकारी