भक्तपुरको चाँगुनारायण नगरपालिकामा मानव अधिकार प्रवद्र्धनका लागि कार्यदल गठन भएको छ । ७३औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अवसरमा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको आयोजना र चाँगुनारायणको समन्वयमा कार्यदल गठन गरिएको हो ।

नगरपालिकाकी विधायन समिति सदस्य सपना तामाङको संयोजकमा ५ जना सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलमा विधायन समिति सदस्य सरुना परियार, नगरपालिका कर्मचारी आशा माझी, भक्तपुर बारका रामभक्त सुवाल र गैसस भक्तपुरबाट पहलमान श्रेष्ठ रहेका छन् । मानव अधिकार राष्ट्रिय कार्ययोजनालाई स्थानीय तहमा कार्यान्वयन गर्न सहयोग पुर्‍याउन कार्यदल गठन गरिएको नगरपालिकाले जनाएको छ।

अन्तरक्रियामा नगरपालिका जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज, संघ–संस्थाका प्रतिनिधिको सहभागिता थियो । कार्यशालामा मानव अधिकार राष्ट्रिय कार्ययोजनाबारे अधिकारकर्मी मीना शर्माले प्रस्तुतीकरण गरेकी थिइन् ।