गाउँ केन्द्रीत मेला महोत्सवले पर्यटन प्रवर्दनमा टेवा पुग्ने थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्टले बताएका छन् । थाहा नगरपालिकाको वडा नम्बर ८ ऐसेलुखर्कमा मिनी महोत्सव तथा अन्तर पालिकास्तरीय भलिबल प्रतियोगितासहितको सांस्कृतिक कार्यक्रमको २८ पुसमा उद्घाटन गर्दै नगर प्रमुख विष्टले यस्तो बताएका हुन् । उनले कार्यक्रमकै कारण आग्रामा रहेको पर्यटकीय स्थलको प्रचारप्रसारमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले खेलले अनुशासन सिकाउने हुँदा अनुसासित भएर खेल खेल्न आग्रह गरे । ‘आग्रामा आयोजित कार्यक्रमले एकातिर युवामा खेलप्रति आकर्षण बढ्छ, अर्कातिर आग्रा चिनाउन मद्दत गर्छ–प्रधानले भने । ग्रामिण पर्यटन आर्थिक सम्बृद्धिको आधार भएकोले कार्यक्रमले त्यसतर्फ पनि सघाउ पुग्ने प्रधानको भनाइ थियो ।

   

नमुना जनजागरण युवा क्लव र खेलकुद विकास समिती थाहा ८ को आयोजनामा भइरहेको कार्यक्रमको उद्घाटन समारोहमा थाहा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हेम कुमार थिङले मेला तथा खेलकुद प्रतियोगिताले पछाडी परेको आग्रालाई उजागर गर्ने बताए । वडाध्यक्ष लामाले कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने सबैलाई धन्यवाद दिए । सो अवसरमा आग्राको पर्यटनलाई चिनाउनको लागि मिनि महोत्सव आयोजना गरिएको आयोजक समितिका सल्लाहकार रामकुमार घलानले बताए । घलानका अनुसार हाल थाहा नगरपालिकाको वडा न ७ र ८ तथा तत्कालीन आग्रा गाबिसमा रहेको पौराणिक, ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रचार प्रचार र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको समेत उल्लेख गरे ।

नमुना जागरण युवा क्लवका अध्यक्ष जयराम घलानको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा थाहानगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तान, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, नेकपा एमाले जिल्ला सदस्य डम्बर लामालगायतकाको आतिथ्यता रहेको थियो ।

आग्रामा डाडाबास पार्क,स्तम्भ डाडा बुद्ध पार्क, सप्तकन्या गुफा, कालाकण्ठेश्वर महादेवको मन्दिर, गोक्सेखानी भग्नावशेष दरबार, बथानचुली झण्डाचुली, उन्यु चौर, कैलाश डाँडा, ६४ ज्योतिरलिङ्ग मध्यको एक कुटेश्वर महादेव र नेपालकै तेस्रो अग्लो झोलुङे पुल अवलोकन तथा घुमफिर गर्न सकिने स्थानहरु छन् ।

यसैबीच २८६१ औं सोनाम ल्होछारको अवसरमा कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, थाहा नगरपालिका र थाक्रे गाउँपालिकास्तरिय भलिबल प्रतियोगिता पनि आग्रामा शुरु भएको छ । प्रतियोगितामा ७ वटा टिम सहभागी छन् । २८ पुसदेखि माघ २ गतेसम्म थाहा नगरपालिका वडा न ८ को ऐसेलुखर्कमा प्रतियोगिता सञ्चालन हुनेछ ।
सो अवसरमा राष्ट्रिय कलाकारहरु गायिका शान्ता रानी परियार, जितु लोप्चन, बाबुकृष्ण परियार, सानू केसी, सर्मिला गुरुङ(सरु),रजनी लामा र डान्सरहरु ममता रानामगर, पुजा सुनार, सविना राई, उद्घोषक पिम्सरा आले मगर र राममाया वाइवा सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ। कार्यक्रममा तामाङ खाना, तामाङ संस्कृति झल्कने विभिन्न झाँकीसहित विविध स्टलहरु रहेको छ। महोत्सवबाट खेलाडी उत्पादन र पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने आयोजकको अपेक्षा गरेको छ ।

पालिका प्रेस
थप जानकारी