बागलुङको बडिगाड गाउँपालिकामा ७ देखि २६ फागुनसम्म बृहत जनस्वास्थ्य अभियान सञ्चालन हुने भएको छ । बडिगाड पालिकाको आयोजनामा विशेषज्ञ डाक्टरसहित पालिकाभित्रका १६ स्थानमा यो अभियान सुरु गर्न लागिएको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक चुडामणि कँडेलले जानकारी दिए ।

१६ जना विशेषज्ञ डाक्टरसहित सञ्चालन गरिने अभियानमा हड्डी, नाक, कान, घाँटी, स्त्रीरोग तथा प्रसूति, छाला, आँखा तथा मानसिक रोगलगायतका सेवा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । अभियानमा रेडियोलोजिस्टबाट भिडियो एक्सरे, एकीकृत स्वास्थ्य सेवा व्यवस्था गरिने जनस्वास्थ्य निरीक्षक कँडेलले बताए । गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा बडिगाड गाउँपालिकाभित्रका भीमगिठे, ग्वालीचौर, जलजला र खर्वाङमा बृहत् स्वास्थ्य सेवासहित क्रमशः ८, ९, १० र ११ फागुनमा सञ्चालन गर्ने तयारी छ । पालिकाभित्रको टुनीबोटमा ७ फागुन, दर्लिङखोलामा १२, खालामा १३, दाँगमा १४, दगातुन्डाँडामा १७, सिसाखानीमा १८, खारखोलामा १९, झुलेडाँडामा २०, रणसिंह किटेनीमा २२, भेडीखोरमा २३, दोभानमा २४ र ग्वालीचौरमा २५ फागुनमा स्वास्थ्य जाँचसहित जनस्वास्थ्य अभियान चलाउने कार्यतालिका बनाइएको कँडेलले जानकारी दिए ।

अभियानमा ४० वर्षमाथिका सबै नागरिकको किड्नी जाँच, महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच, मधुमेह जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले बताएको छ । त्यस्तै, ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भेला गरेर नसर्ने रोगविरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम, सुनौला हजार दिनभित्रका आमाको भेलामा गर्भवतीको भिडियो एक्सरे तथा स्वास्थ्य शिक्षा सञ्चालन गरिनेछ ।

परिवार नियोजनका साधन नरप्लान्ट, कपर टीलगायत राख्ने कार्यक्रम छ । बडिगाड पालिकाको आन्तरिक स्रोत तथा ससर्त अनुदान कार्यक्रमअनुसार स्वास्थ्य अभियान सञ्चालन गरिन लागेको गाउँपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी