मकवानपुरको कैलाश गाउँपालिका– १० का पाँचवटा टोललाई पूर्ण सरसफाईउन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । १७ कार्तिकमा एक कार्यक्रमका बीच कौशीराङ–घट्टेचौर, कुमलटार, भाल्टार, सागिने र बाँझखेत टोललाई वडा अध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले खानेपानी आमनागरिकको नैसर्गिक र मौलिकअधिकार रहेको बताए । खानेपानीको कार्यक्रमलाई दीगोपना दिन गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा काम गरि रहेको अध्यक्ष मुक्तानले बताए । पानीको मुहान दर्ता गर्न आग्रह गर्दै मुहानको बीमा कार्यक्रम गाउँपालिकाले ल्याएको छ, दर्ता भएका मुहानको विपदमा भत्किएको अवस्थामा बीमामार्फत निर्माण गर्न सहज रहन्छ, मुक्तानले भने । खानेपानी शुद्धीकरण गर्न फिल्टर वितरण गरिएको र फिल्टरको मात्रै पानी प्रयोग गर्न आग्रह गरेका छन् । ३ हजार देखि पैतीस सय घरधुरीमा एकघर एकधारा निर्माण गरिने लक्ष्य राखिएको उनले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सर सफाईका सूचक र उपसूचकलाई पालना गर्न अनुरोध गरेका थिए । गरिएको प्रतिवद्धताअनुरुप काम गरि नुपर्ने बताउँदै खानेपानीको मुहानदेखि घरको धारासम्मका संरचना संरक्षण गर्नुपर्ने बताए । खानेपानी हामी सबैको मौलिक हक हो, शुद्ध खानेपानी पिउनका लागि गाउँपालिकाले साझेदारीमा काम गर्दै आइरहेको उपाध्यक्ष मल्लले बताए । फोहार पानी पिउँदा विभिन्न रोग लाग्ने वडाध्यक्ष ब्लोनले बताए । उनले मुहानदेखि भान्सासम्म पानी सफा हुनुका साथै घर, शौचालय, भान्सा, टोल समुदाय सफा राख्नु सबैको सामूहिक दायित्व रहेको बताए ।

ग्रामीण पुर्ननिर्माण केन्द्र (आरआरएन) का जिल्ला संयोजक लीलबहादुर कार्कीले प्रदुशित पानीले ६० प्रतिशत रोग लाग्ने बताए । जर्मन सरकारको डब्लुएचएचको सहयोगमा आरआरएनले गाउँपालिकासँग सहजीकरण गरी साझेदारीमा शुद्ध खानेपानी प्रयोग गरिनुपर्छ भनेर सुरक्षित पानी, सरसफाई अभियान सञ्चालन गरिएको बताए । ‘सचेतना बढाउनुस्, सोच बदल्नुस, पानीको महत्व फराकिलो रहेको’ उनले बताए । सरसफाईका ७ सूचक र २३ वटा उपसूचकलाई सबैले पालना गर्न आग्रह गरेका थिए ।

पालिका प्रेस
थप जानकारी