मकवानपुरको बागमती गाउँपालिका–१ अन्तर्गत सञ्चालनमा रहेको राईगाउँ १, २ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औँ वार्षिक भेला २७ मंसिरमा भएको छ । बागमती गाउँपालिका वडा नम्बर १ माझगाउँ सम्झना बजारमा भएको भेलामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति तथा वित्तीय प्रतिवेदन समितिका सचिव राजकुमार राईले प्रस्तुत गरेका थिए ।

संस्थाको सम्पत्ति विवरण, हालसम्म भएका कार्यहरु, प्राप्त उपलब्धि तथा बाँकी योजनासम्बन्धी विस्तृत प्रतिवेदन अध्यक्ष भीमकुमार राईले पेश गरेका थिए । भेलाले खानेपानी सेवा प्रणालीलाई थप व्यवस्थित, दिगो र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित महत्वपूर्ण नीति तथा व्यवस्थापकीय प्रस्ताव पारित गरेको छ । पारित प्रस्तावमा ग्राहक नम्बर प्लेट लेखन तथा अभिलेखीकरण प्रणाली लागू गर्ने, सडक विस्तार हुने क्षेत्रमा पाइपलाइन व्यवस्थापन तथा समन्वय सुदृढ गर्ने, व्यक्तिगत तथा संस्थागत निर्माणकार्यका क्रममा खानेपानी पाइपलाइनमा क्षति पु¥याएमा क्षतिपूर्ति तिर्ने स्पष्ट नियम बनाउने, धारामा जडान गरिएका पानी मिटरलाई सुरक्षित बनाउने व्यवस्था मिलाउने तथा कर्मचारीको तलबवृद्धि गर्ने विषय समेटिएका छन् ।

समितिले २०८१ फागुन महिनादेखि खानेपानी महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको जानकारी भेलामा गराएको छ । यस व्यवस्थाले सेवाग्राहीलाई सहजता र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी उपभोक्ताले खानेपानी सेवासम्बन्धी उठाएका प्रश्न, जिज्ञासा र सुझाव माथि खुला अन्तरक्रिया तथा छलफल गरिएको थियो । अध्यक्ष राईका अनुसार हाल वडा नं. १ अन्तर्गत ४ सय ८ घरधुरी खानेपानी सेवाग्राही रहेका छन् भने सेवा क्षेत्रभित्रका ९२ घरधुरीमा अझै धारा जडान गर्न बाँकी छ । आगामी दिनमा सेवा विस्तार गर्दै गुर्दुमक्षेत्रका बासिन्दामा खानेपानी धारा जडान गर्ने योजना रहेको उनले बताए । हाल समितिले १ लाख लिटर र ५० हजार लिटर क्षमताका दुईवटा खानेपानी ट्यांकी निर्माण गरिसकेको छ । तर, बढ्दो जनसंख्या र उपभोक्ताको मागलाई मध्यनजर गर्दै थप २ लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण अपरिहार्य रहेको अध्यक्ष राईले बताए ।

संस्थाका अध्यक्ष राईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव राजकुमार राईले गरेका थिए । भेलामा बोटगाउँ, माझगाउँ, बन्जरे, करौंजे र रामपुरका उपभोक्ताको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी