मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा खानेपानीको समस्या चुलिएको छ । वर्षौ पुराना खानेपानी संरचनाहरू जीर्ण बन्दै गएपछि स्थानीय बासिन्दा खानेपानीको अभाव झेल्न बाध्य भएका हुन्। राणाकालीन समयमा निर्माण गरिएको पानी ट्याङ्कीमा व्यापक चुहावट देखिएको छ भने अन्य संरचनाहरू पनि मर्मतसम्भारको अभावमा प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका छन्।
स्थानीयका अनुसार वि.सं. २०५२ सालमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा निर्माण गरिएको पानी ट्याङ्की हाल पूर्ण रूपमा जीर्ण भइसकेको छ। ट्याङ्की कमजोर भएपछि पानी भण्डारण गर्न नसक्दा उपभोक्ताहरूलाई दैनिक समस्या परेको छ। यसैगरी, भीम आधार सामुदायिक विद्यालयको संयोजनमा निर्माण गरिएको खानेपानी प्रशोधन केन्द्रसमेत तत्काल मर्मत आवश्यक रहेको स्थानीय उपभोक्ताहरूको भनाइ छ ।
खानेपानीको रेखदेख र व्यवस्थापनका लागि गठन गरिएको भीमसेन खानेपानी उपभोक्ता तथा सरसफाइ समिति लामो समयदेखि निष्कृय रहँदा साना समस्या समेत विकराल बन्दै गएको स्थानीयले गुनासो गरेका छन्। स्थानीय उपभोक्ताहरूले वडा कार्यालयलाई यस विषयमा तत्काल छलफल गरी समाधान निकाल्न आग्रह गरेका छन्। समस्यालाई मध्यनजर गर्दै भीमफेदी वडा नम्बर ६ का वडा अध्यक्ष सोमबहादुर घलानले खानेपानी समस्या समाधानका लागि वडा कार्यालय गम्भीर रहेको बताए ।
उनका अनुसार जीर्ण संरचनाहरूको मर्मतका लागि वडा कार्यालयबाट तीन लाख बजेट विनियोजन गरिएको छ । विनियोजित बजेटमार्फत पानी ट्याङ्कीको चुहावट नियन्त्रण गर्ने र खानेपानी प्रशोधन केन्द्रको सुधार गरिने जनाइएको छ । साथै, निष्कृय रहेको उपभोक्ता समितिलाई पुनर्गठन गर्ने वा नयाँ ढंगले सञ्चालन गर्ने विषयमा पनि पहल गरिने वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले बजेट विनियोजन गरेसँगै अब चाँडै नै भीमफेदी पारीबजार, वारीबजार, टारगाउँ, नयाँ सडक र सिमलटार क्षेत्रका बासिन्दाले सुरक्षित तथा व्यवस्थित खानेपानी पाउने आशा पलाएको छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्