मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा किसान कृषि कर्जा कार्ड लागु भएको एक वर्ष पूरा भएको छ । नेपाल बंगलादेश बैंक लिमिटेड मकवानपुरगढी शाखाले आयोजना गरेको एक समारोहका वीच २०७८ असार २५ गते पहिलो पटक मकवानपुरगढी गाउँपालिका वडा नं. ३, मक्रान्चुलीमा अवस्थित श्री मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा आवद्ध २५ जना साना किसानहरुलाई किसान कृषि कर्जा कार्ड वितरण गरि कार्यक्रमको शुरुवात गरिएको थियो ।

मकवानपुरगढी गाउँपालिका भित्र रहेका कृषकहरुले पशुपन्छी पालन, तथा तरकारी र फलफूल लगायतका उत्पादनमूलक कृषि व्यवसाय/ उद्यम गर्नका निम्ति आवश्यक बित्तिय पहुँच, प्राविधिक सेवा, बजार व्यवस्थापन एवम् विभिन्न भूमिकामा समन्वय गर्न साना स्तरका कृषकलाई व्यावसायोन्मुख र व्यवस्थित गर्ने उदेश्यले नेपाल बंगालादेश बैंक लिमिटेड, आर.एण्ड डि. ईनोभेटिभ सोलुशन प्रा.लि., मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समिति वीच मिति २०७७ माघ २६ गतेदेखि लागु भई २०८२ माघ २६ गतेसम्म ५ वर्ष अवधिका लागि लागु हुने गरि चौपक्षिय सम्झौता भए बमोजिम किसान कृषि कर्जा कार्ड कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिमा आवद्ध सहकारी संस्थाहरुले सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा एकै प्रकारका कृषि व्यवसायमा आवद्ध ८–१० जना कृषकहरुको समूह बनाई आवश्यक कागजात सहित मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखामा सिफारिस गर्दछ । सहकारी संस्थाले छनौट गरेका समूहमा आवद्ध कृषकहरुलाई कृषि विकास शाखाले नेपाल बंगलादेश बैंक लिमिटेडमा किसान कृषि कर्जा कार्ड उपलब्धताको लागि सिफारिस गर्दछ र बैंकले आवश्यक स्थलगत अनुगमन लगायतका प्रक्रियाहरु पूरा गरि साना किसानहरुलाई विना धितो दूई लाखका दरले किसान कृषि कर्जा कार्ड मार्फत सहुलियत दरका कृषि कर्जा प्रवाह गरिरहेका छन् ।

किसान कृषि कर्जा कार्ड मार्फत प्रवाह भईरहेका कृषि कर्जाको व्याज दरमा बैंकको आधार दरमा २ प्रतिशतले जोडि हुने दर कायम हुन्छ र सेवा शुल्क सम्पूर्ण मिनाहा हुने व्यवस्था रहेको छ साथै कार्ड मार्फत प्रवाह हुने कर्जामा नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने व्याज अनुदान÷ सहुलियत समेत नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७७ बमोजिम पुरुष कृषकको हकमा ५ प्रतिशत व्याज अनुदान र महिला कृषकको हकमा ६ प्रतिशत व्याज अनुदान उपलब्ध भईरहेका छन् । नेपाल बंगलादेश बैंक लिमिटेड मकवानपुरगढी शाखाका शाखा प्रबन्धक बद्रि विक्रम थापाका अनुसार हाल यस बैंकको आधार दर ९.१० प्रतिशत रहेको छ र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम हरेक तीन महिनामा बैंकको आधार दर घटबढ हुने गर्दछ ।

मकवानपुरगढी गाउँपालिका भित्र सम्झौता बमोजिम हालसम्म ७१ जना साना किसानहरुलाई नेपाल बंगलादेश बैंकबाट किसान कृषि कर्जा कार्ड मार्फत प्रतिकृषक २ लाखका दरले जम्मा १ करोड ४२ लाख रुपैया ऋण प्रवाह भएको छ र चालु आ.व. ०७८/७९ मा किसान कृषि कर्जा कार्डमा सहजीकरण गर्ने सहकारी संस्थाहरुलाई १.५ (डेड) प्रतिशतका दरले २ लाख १३ हजार रकम सहजीकरण व्याज अनुदान उपलब्ध गराईसकेका छन् । जसमा मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि.मकवानपुरगढी ३ मक्रान्चुलीमा आवद्ध ३३ जना कृषक, समुन्नती वनजन्य उत्पादन तथा विविधिकरण सहकारी संस्था लि. वडा नं. ५ लिङेडाँडामा आवद्ध १० जना कृषक, वुद्ध दुग्ध उत्पादक सहकारी संस्था लि. वडा नं. ५ सोलिथुम चुहारमा आवद्ध १० जना कृषक, तिलगंगा महिला बहुउदेश्यीय सहकारी संस्था लि. वडा नं. ५ सिमलटारमा आवद्ध १० जना कृषक र जनजागृति दुग्ध उत्पादक सहकारी संस्था लि. वडा नं. ७ सुकौरामा आवद्ध ८ जना कृषकहरु रहेका छन् । यसरी किसान कृषि कर्जा कार्ड पाउनेमा महिला कृषक ३७ जना र पुरुष कृषक ३४ जना रहेका छन् ।

कार्ड पाउने स्थानका कृषकहरुको स्थलगत फिल्ड अवलोकन र अवस्थाको वारेमा जानकारी लिंदा किसान कृषि कर्जा कार्ड प्रभावकारी देखिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं. ५ लिङेडाँडाका कार्ड लिएका कृषक तेलीमाया घलानको पहिला १ वटा गाई थियो । कार्ड मार्फत कर्जा लिएर २ वटा गाई खरिद गरि अहिले ३ वटा गाई छन् । एक वटा गाई हुँदा दैनिक ८ लिटर दुध बिक्री गर्दै आईरहेकोमा अहिले दैनिक १८ लिटर दुध बेचिरहेको छु । यसले हामीलाई निकै फाइदा पुगेको बताउनुभयो । त्यस्तै अर्का कृषक प्रेममाया स्याङतानले भन्नुभयो म सँग दुईवटा गाई पहिला थियो सँगै बाख्रापालन गर्ने ईच्छा हुँदाहुँदै पुँजीको अभावले सकिएको थिएन । किसान कर्जा कार्डले दुई वटा गाई र ११ वटा बाख्रा खरिद गरि बाख्रा पाल्ने ईच्छा पूरा भयो र गाईपालनको व्यवसाय पनि विस्तार भयो । यसले हाम्रो व्यवसाय विस्तारमा सहयोग पुगेको छ ।

यसैगरि मकवानपुरगढी गाउँपालिका वडा नं. ५ स्थित श्री बुद्ध दुग्ध उत्पादक सहकारी संस्था लि. का अध्यक्ष कृष्ण बहादुर गोलेले १० जना कृषकहरुलाई किसान कृषि कर्जा कार्ड वितरण गरि यस क्षेत्रमा १५ वटा गाई थप भएको र कसै कसैले गोठ सुधार गरेको बताउनु भयो । सहकारी संस्थामा पहिला दैनिक ५०० लिटर दुध संकलन हुने गरेकोमा हाल दैनिक ७०० लिटर दुध संकलन भैरहेको छ । यसबाट कृषकहरुको आयस्तरमा समेत वृद्धि भएको छ । मकवानपुरगढी ७ स्थित जनजागृति दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एका बहादुर गोलेले किसान कृषि कर्जा कार्डले सहकारीमा दुध संकलनको मात्रा बढेको बताउनु भयो । मकवानपुरगढी गाउँपालिका वडा नं. ५ का वडा सदस्य सुकुराम थिङले भन्नुभयो लिङेडाँडा क्षेत्रका १० जना कृषकले किसान कृषि कर्जा कार्ड प्राप्त गरि प्राय सवै जनाले गाई खरिद गरेको छ सँगै बाख्रा खरिद र टनेलमा समेत लगानी गरेको देखिन्छ । यो कर्जा कार्ड प्रभावकारी लागेको र थप कृषकहरुले माग गरिरहेका छन् ।

यो कार्यक्रमले साना भन्दा साना किसानहरु सम्म बित्तिय पहुँच पुग्ने भएको हुँदा सानो स्तरबाट कृषि व्यवसाय शुरुवात गर्न र व्यवसाय शुरुवात गरेका कृषकहरुलाई व्यवसाय विस्तार गर्न सहज भएको देखिन्छ । बैंकिग प्रणालीमा साना किसानहरुको पहुँच पुग्न नसकिरहेको अवस्थामा व्याज अनुदान सहितको कृषि कर्जाको उपलब्धताले कृषकहरुलाई प्रोत्साहन मिलेको देखिन्छ । यो कर्जा नेपाल सरकारको व्याज अनुदान सहितको कृषि कर्जा अन्तर्गत पर्ने भएको हुँदा कृषि वाहेक अन्य प्रयोजनको लागि यो कार्ड कार्डको प्रयोगलाई निरुत्साहित गरिएको छ र यो कार्डबाट नगद रकम निकाल्न मिल्दैन जुन यसको सुन्दर र महत्वपूर्ण पक्ष हो ।

स्थानीय तहको दोश्रो निर्वाचन सम्पन्न पश्चात नव निर्वाचित जनप्रतिनिधीहरुले आफ्ना जिम्मेवारी सम्हालीसकेका छन् । अधिकांश स्थानीय तहहरुले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेका छन् । यसै सन्दर्भमा मकवानपुरगढी गाउँपालिकाले अगामी आ.व.०७९÷८० को नीति, कार्यक्रम तथा बजेटमा किसान कृषि कर्जा कार्ड कार्यक्रमलाई निरन्तरता दिइएको छ । यस कार्यक्रमले थप साना कृषकहरुलाई बित्तिय पहुच सँग जोडने र कृषि व्यवसाय विस्तार गर्न कोसेढुगा सावित हुनेछ ।

  • लेखक चौधरी, मकवानपुरगढी गाउँपालिका, मकवानपुरमा कार्यरत् कृषि अधिकृत हुन् ।
चन्द्रकान्त चौधरी
थप जानकारी