

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुर, चितवन र धादिङमा बसोबास गरिरहेका चेपाङ, बोटे र वनकरिया जातिलाई २५० वटा घर निर्माण गर्ने भएको छ ।
२४ घरधुरी रहेको वनकरिया समुदायका लागि २४ वटै घर निर्माण गरिनेछ भने बोटे जातिका लागि ५० घर र चेपाङ जातिका लागि १ सय ७६ घर निर्माण गरिने भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले जानकारी दिए । ‘एउटा घर निर्माणका लागि ४ लाख रुपैयाँ उपलब्ध गराइने छ’, उनले भने– ‘जसका लागि संघीय सरकारको ५ करोड र बागमती प्रदेश सरकारले ५ करोड गरि १० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।’
सम्बन्धित समुदायको सामाजिक, सांस्कृतिक मूल्य मान्यता सुहाउँदो किसिमको आवासको डिजाइन मन्त्रालयले नै उपलब्ध गराउने उनले बताए । प्रदेश मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयले आवासीय भवन निर्माण गर्नेछन् ।
पहिरो वा सडक निर्माणका कारणले विस्थापित भएका, खरको छानो भएका, ऐलानी जग्गामा घर भएकाहरुलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने राज्यमन्त्री प्रजाले बताए । जग्गा नभएकालाई जग्गा उपलब्ध गराएर एकीकृत बस्ती निर्माण गरिनेछ भने जग्गा भएका तर आवासको समस्या भएकाहरुलाई सम्बन्धितको जग्गा भएकै ठाउँमा घर निर्माण गरिने उनको भनाइ छ । एकीकृत बस्ती निर्माण गरिएको स्थानका लागि आवश्यक पर्ने पूर्वाधारहरु सडक, बिजुली, खानेपानी, ढल, खुल्ला क्षेत्र लगायतको निर्माण कार्य प्रदेश सरकारलेनै गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्