४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्र मकवानपुका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले यसपटक पनि प्रत्यक्ष निर्वाचनमा हँसिया हथौडामा भोट हाल्न नपाउने भएका छन् । प्रत्यक्षतर्फ २ प्रतिनिधि र ४ प्रदेश सदस्य रहेको मकवानपुरमा माओवादीले २ वटा प्रदेश सदस्यको लागि मात्र आफ्नो उम्मेदवारी खडा गरेको छ अर्थात प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको छैन् ।
यसअघि, २०७४ मा भएको प्रतिनिधिसभा सदस्यमा पनि माओवादीले उम्मेदवारी दिएको थिएन । यसपटक, पाँच दलीय सत्ता गठबन्धनसँगको चुनावी तालमेल गर्दा माओवादीले मकवानपुरमा उम्मेदवारी नदिएको हो । ०७४ मा नेकपा एमालेसँगको तालमेलमा माओवादीले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएको थिएन । यसअघि, हालै सम्पन्न स्थानीय निर्वाचनमा पनि माओवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयरमा दाबी गरेको थिएन । कुनैबेला कम्युनिष्टको गड भनेर चिनिने मकवानपुरमा पछिल्लो समय हेटौंडा उपमहानगरसहित जिल्लामा माओवादीको जनमत क्रमशः कम हुँदै गएको कारण माओवादीले गठबन्धनमा दाबी गर्न नसकेको जिल्ला नेताहरुको बुझाइ छ ।
माओवादीबाट यसपटक पनि प्रदेश सदस्यमा पुरानै अनुहार
गठबन्धनसँगको चुनावी तालमेलसँगै जिल्लामा प्रत्यक्षतर्फ माओवादीले दुई प्रदेश सभा सदस्य पाएको छ । अघिल्लो पटक माओवादीका उम्मेदवार निर्वाचित बनेको क्षेत्रनै पाएको हो । यस पटक पनि बाग्मती प्रदेश सदस्यका लागि माओवादीको केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज ४२ वर्षीया कुमारी मोक्तान र पार्टीको प्रदेश उपाध्यक्ष ४९ वर्षीय प्रेमबहादुर पुलामीलेनै टिकट पाएका छन् भने उम्मेदवारी दिएर चुनावी अभियानमा हिड्न सुरु गरिसकको छन् ।
बाग्मती प्रदेशकी सामाजिक विकासमन्त्रीसमेत रहेकी हेटौंडा–१३ की मोक्तानले जिल्लाको क्षेत्र नम्बर– २ को (क) र निवर्तमान प्रदेश सदस्य बागमती–६ का पुलामीले क्षेत्र नम्बर– १ को (क) का लागि उम्मेदवारी दिएका हुन् । यसअघि २०७४ सालमा भएको निर्वाचनमा पनि उनीहरू सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यसअघि पनि पटकपटक उनीहरू नै उम्मेदवार र निर्वाचित बन्दै आइरहेका छन् ।
अघिल्लो पटक एमालेसँग तालेमल गर्दा उनिहरुले सहज जित हात पार्न सफल भएका थिए भने यसपटक जित हात पार्न सकस देखिएको छ । यस पटक यसअघि विजयी भएको क्षेत्रमा १ को (क) मा पार्टीका केन्द्रीय सदस्य युवा नेता विजय गौतम र २ (क) मा २०७४ सालमा थाहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित माओवादी प्रदेश सदस्य लवशेर विष्टको चर्चा रहँदा टिकट भने पुरानै अनुहारले पाउँदा जिल्ला नेतृत्वदेखि कार्यकर्ता स्तरसम्म रुष्ट रहेको माओवादी जिल्ला नेताहरुको बुझाइ रहेको छ । २०७४ सालमा एमालेसँग चुनावी तालमेलमा पनि माओवादीले जिल्लामा सोही २ प्रदेशसभा सदस्य मात्र पाएको थियो ।
गठबन्धनलाई कायम गरेर लैजाँदा २ वटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा उम्मेदवारविहीन भएको भन्दै जिल्ला नेता, कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको छ । माओवादीको राम्रो जनमत भएको जिल्लामा यसपटक पनि २ प्रदेश सदस्यमा खुम्चिँदा कार्यकर्ता रुष्ट बनेका छन् । मकवानपुर माओवादी जिल्ला सदस्य खुसीलाल प्रजाले गठबन्धनविरुद्ध बागी उम्मेदवारीनै दिएर चुनावी मैदानमा छन् भने कतिपय कार्यकर्ताले सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गर्दा कतिपय अन्य पार्टीमा प्रवेश गर्दै चुनावी अभियानमै सक्रिय देखिएका छन् ।


















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्