३ असोज २०७२ मा संविधान जारी भएपछि पहिलो पटक २०७४ सालमा भएको स्थानीय तह सदस्य निर्वाचनमा सबै राजनीतिक दल आ–आफ्नै तरिकाले भिडे । २०७४ सालमै भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लडे । वाम गठबन्धनविरुद्ध कांग्रेस, राप्रपालगायतका साना दलहरू मिलेर चुनावमा होमिएका थिए । निर्वाचनबाट स्थानीय तहदेखि संघ र प्रदेश सरकारमा वाम गठबन्धनको वर्चस्व रह्यो ।

४ मंसिर २०७९ मा हुन लागेको आम निर्वाचन दलहरूको मिलापत्र गत निर्वाचनको भन्दा ठीक उल्टो छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोसपाको संयुक्त शक्तिविरुद्ध एमाले जनता समाजवादी पार्टी (जसपा), राप्रपा र राप्रपा नेपालको साथ लिएर निर्वाचनमा जाँदैछ । सरकार कसको बन्छ भन्न अहिले नै हतार हुन्छ, त्यसका लागि मतपरिणाम कुर्नुको विकल्प छैन ।

सरकारमा जान राजनीतिक दलहरू हात धोएर लागिपरेका छन् । दलका शीर्ष नेताहरू नै एकअर्कामाथि सत्तोसराप र गालीगलौजमा उत्रिएका छन् । नेताहरूकै सिको जिल्लास्तरसम्म आइपुगेको छ । जुन मकवानपुर अछुतो रहन नसकेको दल र कार्यकर्ताहरूको पछिल्लो हर्कतले देखाएको छ ।

निर्वाचनको समयमा दल र उम्मेदवारहरूले आफ्ना एजेण्डा प्रस्तुत गर्छन् । सोही एजेण्डामाथि आमनागरिकले बहस, छलफल गर्दै मत जाहेर गर्नु राजनीतिक संस्कारभित्र पर्छ । तर, मकवानपुरमा पछिल्लो एक हप्तादेखि उम्मेदवारदेखि दलका कार्यकर्ताहरू एकअर्काविरुद्ध गालीगलौजमा उत्रिएका छन् । उम्मेदवारहरू आफ्नो एजेण्डा जनतामाझ लैजानु भन्दा पनि आफ्नो प्रतिद्वन्द्वीविरुद्ध विषवमन गरिरहेको गतिविधि देखिन्छ ।

गठबन्धनका उम्मेदवारदेखि कार्यकर्ताहरू एमालेका उम्मेदवारमाथि गालीगलौजमा उत्रिएका छन् । एमालेका उम्मेदवारदेखि कार्यकताहरू गठबन्धनका कार्यकर्ता माझ विषवमन गरिरहेका छन् । यसबाट आमनागरिक नै दिक्क भएको प्रतिक्रियासमेत पाइएको छ । नागरिकहरू दलका कार्यकर्ताको गलत राजनीतिक संस्कारबाट वाक्क भएर एजेण्डामाथि बहस गर्न सुझाउँछन् । तर, मकवानपुरको हकमा विपरीत पार्टी र तिनका उम्मेदवारमाथि गालीगलौज रोकिएको देखिँदैन ।

प्रतिनिधिसभा मकवानपुर–१ बाट गठबन्धनकी संयुक्त उम्मेदवार कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले निर्वाचन लक्षित कार्यक्रमहरूमा आफ्ना एजेण्डाभन्दा पनि प्रमुख प्रतिस्पर्धी एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि प्रहार गरिरहेकी छन् । उनले निर्वाचनमा एजेण्डा कम प्रस्तुत गरे पनि हरेक कार्यक्रममा कमल थापालाई संविधान विरोधी भन्न छुटाएकी छैनन् । उनले थापालाई लक्षित गर्दै संविधान बनाउँदा हस्ताक्षर नगर्नेहरूलाई मत नहाल्न अपिल नै गरेकी छन् । प्रतिद्वन्द्वीविरुद्धको एजेण्डा बोकेकी डिनाले निर्वाचनमा निर्वाचन क्षेत्रको समग्र विकास र आमनागरिकको जीवनस्तर उकास्ने मुद्दा बोक्न बिर्सिएकी छन् ।

१ नम्बर क्षेत्रकै अर्का उम्मेदवार थापाले एमाले र राप्रपा नेपाललाई राष्ट्रवादी बताउँदै गठबन्धनका दलहरू राष्ट्रहित विपरीत लागिपरेको आरोप लगाउँदै आएका छन् । उनले पनि आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासको मोडल र नागरिकको अवस्था उकास्ने कुनै एजेण्डा प्रस्तुत गरेका छैनन् । परम्परागत भाषण गरेर मतदाता रिझाउने ध्याउन्नमा थापा लागेका छन् । थापाले निर्वाचन जित्न आफ्नो अन्तिम चुनाव भएको कार्ड फालेका छन् ।

प्रतिनिधिसभा मकवानपुर–२ मा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडा पनि प्रतिद्वन्द्वी दल र उम्मेदवारविरुद्ध विरोधमै उत्रिएका छन् । हरेक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्न नछुटाउने खतिवडाले युवा उम्मेदवार नै किन चाहिएको सम्म भन्न भ्याएका छन् । एमालेका देशभर बुढा नेता छन् तर, मकवानपुरमा युवानेता नै चाहिने ? भन्दै खतिवडाले प्रश्न गरेका छन् । खतिवडाले आफ्नो चुनावी मसला गाँजा मुद्दामा जेल परेकाहरू छुट्नु पर्ने बनाएका छन् ।

गाँजा र अफिम खेतीका लागि राक्सिराङ र कैलाश गाउँपालिका प्रख्यात छ । गाँजा र अफिम खेती हुने क्षेत्र खतिवडाको हो । भीमफेदी कारागारमा राक्सिराङ र कैलाशका धेरै युवा गाँजा ओसारपसारमा संलग्न भएकाले कैद भुक्तान गरिरहेका छन् । खतिवडाले गाँजा मुद्दामा जेल परेकाहरूको परिवारबाट भोट तान्ने योजना अनुरुप चुनावी मसला बनाएका छन् । उनले भनेजस्तो जेलबाट छुट्ने सम्भावना निकै कम छ ।

मकवानपुर–२ कै अर्का उम्मेदवार नेकपा एमालेका युवा उम्मेदवार महेश बर्तौला पनि प्रतिद्वन्द्वी खतिवडाविरुद्ध लागिपरेका छन् । घरदैलो अभियानलाई तीव्रता दिएका बर्तौलाले खतिवडालाई पटक–पटक निर्वाचन जितेर आफ्नो क्षेत्रमा गरेको काम देखाउन चुनौती दिनेदेखि पाहुना उम्मेदवारलाई मत नदिन अपिल गर्दै आइरहेका छन् ।

उम्मेदवार मात्र हैन, दलका कार्यकर्तासमेत अर्को पार्टीका उम्मेदवारविरुद्ध विषवमन गरिरहेका छन् । नेकपा (एकीकृत समाजवादी) मकवानपुरका सदस्य तथा कैलाश गाउँपालिकाको निवर्तमान अध्यक्ष टंक मोक्तान एमालेका उम्मेदवार बर्तौला र थापाविरुद्ध गालीगलौजमा उत्रिएका छन् । उनले शहीद परिवारलाई भेटेर प्रतिगमनकारीहरूले भोट माग्न र भावनात्मक ब्ल्याकमेल गरेको आरोप लगाए । उनले बाका छोरा र भतिजहरू हल बाँधेर शहीदको घरमा पुगेको भन्दै गाली गरे ।

एमालेनिकट अनेरास्ववियु मकवानपुरका सचिव पुष्कर तिमल्सिनाले विरोध खतिवडालाई असभ्य गाली गरे । स्वास्थ्य मन्त्री हुँदा अथाह कमिसनको लोभमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेटौँडा अस्पतालबाट हटाएर अर्को जिल्ला पठाउन खोजेको अप्रमाणित आरोप तिमल्सिनाले खतिवडालाई लगाएका छन् । एकअर्काका उम्मेदवारमाथि असभ्य गाली र भ्रामक आरोप लगाउन एमाले र एकीकृत समाजवादीका कार्यकर्ता अग्रसर रहेको देखिन्छ ।

आफूलाई स्वतन्त्र बताउने मधुसुदन बन्जारा एकअर्कालाई गाली गर्ने गलत राजनीतिक संस्कार हटाउनु पर्ने बताउँछन् । गलत राजनीतिक संस्कार भएकाहरू राजनीतिमै लाग्न नहुने उनी बताउँछन् ।

-शिलापत्रबाट ।

पालिका प्रेस
थप जानकारी