पहिलो पटक संविधानसभाबाट २०७२ सालमा नयाँ संविधान जारी भएपछि २०७३ साल फागुन २७ गतेबाट मुलुक संघीयतामा रूपान्तरण भएपछि साबिकका किराञ्चोक, पिडा र गजुरी गाउँ विकास समिति आपसमा गाभेर गजुरी गाउँपालिका नामकरण गरियो । मुलुक संघीय संरचनामा गएपछि २०७४ वैशाखमा स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भयो । दोस्रो कार्यकालका लागि भएको २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित अध्यक्ष एवं उपाध्यक्षसहितका जनप्रतिनिधिले गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट स्वीकृत गराई कार्यान्वयनको चरणमा रहेको छ । नीति तथा कार्यक्रमबाट गाउँपालिकाले गर्ने वार्षिक कार्यक्रमहरूको प्राथमिकीकरण र बजेट व्यवस्था गरिसकेका छौं । हाम्रो वार्षिक कार्यक्रममा प्राथमिकीकरणमा परेका कार्यक्रमहरू : कृषि तथा खाद्य सुरक्षा, खानपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य सेवा, पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, पर्यटन प्रवद्र्धन, युवा तथा खेलकुद, विपद् व्यवस्थापन, सुशासन तथा सार्वजनिक सेवा, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण संरक्षण रहेका छन् ।

गजुरी गाउँपालिकाका करिब ८० प्रतिशत परिवारको जीविकोपार्जनको मुख्य आधारका रूपमा रहेको कृषि कर्मलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने, कृषि उपज उत्पादनलाई उपभोक्तासम्म सहज र सर्वसुलभ तरिकाले पुर्‍याउन सहकारीमार्फत कृषि एम्बुलेन्स सञ्चालन गर्ने, कृषि विज्ञ र किसान छलफल चलाउने, हावापानी र माटो सुहाउँदो बाली लगाउन प्रोहत्सान गर्ने, गोरु पाल्ने किसानलाई प्रोहत्सान भत्ता दिने, पशुपालनमा नस्ल सुधार तथा स्वास्थ्य उपचारको व्यवस्था गर्ने र पोसिलो गाँसको बीउ तथा बिरुवा वितरण गर्ने योजनासहित अघि बढेका छांै । गजुरी गाउँपालिकाका किसानहरूले अहिले बिक्री नगर्ने किसानहरूले बिक्री गर्ने, किनेर खानुपर्ने किसानले बिक्री गर्ने र बिक्री गरिरहकाले अझ थप बिक्री गर्ने वातावरण बनाई गजुरी गाउँपालिकालाई नेपालकै भोकमुक्त नमुना गाउँपालिका बनाउने गरी काम गर्दै छौं । श्रमको उचित प्रतिफल किसानहरूले पाउनेछन् । न्यूनतम पोषणयुक्त खाना सबैको भान्छामा पाक्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधारहरू खानेपानी, मल, बीउ, बजारीकरण, खानपान, आनीबानीमा सुधार शिक्षा, पोषण शिक्षा सबैको व्यवस्था गर्छौं । हामी सबै क्षेत्रका जानकार तथा विज्ञहरूसँग परामर्श गर्दै छांै ।

खानेपानीको व्यवस्था गर्न अघिल्लो सरकारले एक घर एक धारा अभियान सञ्चालन गरेको छ । त्यसको निरन्तरतासहित ‘एक घर एक धारा– स्वच्छ खानेपानी’ नारासहित कार्यक्रमको निरन्तरता दिएका छौं । छिट्टै सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउँछौं । सडक खन्ने काम पूराजस्तै भइसकेको छ । अब सबै सडकलाई बाह्रै महिना सञ्चालन हुने बनाउन स्तरोन्नतिको काम गर्छौं । त्यसका लागि नाली, ग्राभेल रोलिङ, संरक्षण पर्खाल र वृक्षारोपण गर्छौं । वडा कार्यालयसम्म पुग्ने सडक पक्की बनाउँछौं । आर्थिक महŒव बोकेका सडकहरू माथिल्लो सरकारसँग समन्वय गरेर कालोपत्रे गर्नेछौं ।
सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन के गर्नुपर्ला भनेर सोचिरहेको छु । ४५ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार मजबुत छ । तर, शिक्षाको गुणस्तर खस्कँदो छ । विद्यालय व्यवस्थापन समिति गठनमा राजनीति हुन्छ । समिति गठनपछि केही काम नहुने परम्परा नै छ । शिक्षा ऐन नै परिमार्जन गरेर राजनीति नघुस्ने गरी विद्यालय व्यवस्थापन समिति गठन गर्ने, विद्यार्थी–शिक्षक अनुपात मिलाउने र आवश्यकताअनुसार विद्यालय गाभ्नुपर्छ कि भनेर राजनीतिक दलहरूसँग परामर्श गरिरहेको छु । दिवा खाजा कार्यक्रमको प्रभावकारी व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर सोचिरहेको छु । अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने सोच छ । विद्यालयमा खेल सामग्री दिने, विद्यार्थीहरूलाई खेल संस्कृतिको विकास गर्ने थुप्रै योजना रहेका छन् । अझ पनि विद्यालयबाहिर बालबालिका रहेका छन् । उनीहरूलाई विद्यालय ल्याउने र विद्यालय आएर विविध कारणले विद्यालय छाड्ने बालबालिकालाई विद्यालय नछाड्ने बनाउन के गर्नुपर्ला भनेर छलफल चलाइरहेको छु ।

स्वास्थ्य क्षेत्रमा अब तत्काल गर्नुपर्ने भनेको पालिका अस्पताल हो । जग्गा व्यवस्थापन गर्न नसकेर अघिल्ला वर्ष बजेट फिर्ता भएको रहेछ । अहिले उपाध्यक्षको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति गठन गरेका छौं । जग्गा खोज्ने काम भइरहेको छ । मुख्य राजमार्गमा पर्ने गाउँपालिका भएर पनि अस्पतालको महŒव बढी छ । दैनिकजसो सडक दुर्घटना हुन्छ । उपचारको अभावमा घाइतेहरूले ज्यान गुमाइरहेका छन् । सबै वडामा स्वास्थ्य संस्थामार्फत स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छौं । ती स्वास्थ्य संस्थाहरूको सुदृढीकरण गर्नुपर्नेछ । महिला स्वयंसेविकाहरूको प्रोत्साहनलाई अझ समसामयिक बनाउनुपर्नेछ । महिला तथा बालबालिका र ज्येष्ठ नागरिकहरू अझ प्रभावकारी र सम्बन्धित समूह सन्तुष्ट हुने गरी सबैले सेवा–सुविधा पाउने गरी कार्यक्रम बनाउन सोचिरहेको छ । महिलाहरूलाई स्वरोजगार बनाउने विभिन्न तालिम सञ्चालन गरिरहेका छौं । पृथ्वी राजमार्ग भएर पैसाको प्रवाह नगरी मनोरञ्जन गर्न निस्केको देशी–विदेशी पर्यटकलाई मनोरञ्जन दिलाउन त्रिशूली नदी उपयोग गर्ने योजना छ । तीन स्थानमा फिसिङ सेन्टर बनाउने, जलयात्रा गराउने, कृषि पर्यटन होमस्टे प्रवद्र्धन गर्ने सोच राखेको छु । गजुरी गाउँपालिकाभित्र रहेका सहकारीहरूलाई व्यवस्थित बनाउने, निहित स्वार्थका लागि खोलिएका सहकारीहरू अर्को सहकारीमा गाभ्ने वा खारेज गर्ने गरी सहकारीलाई व्यवसायसँग जोड्ने योजना छ । केही घरमा विद्युत् पुर्‍याउन बाँकी छ । बाँकी घरमा बिजुली बत्ती पुर्‍याउन ठेक्का भइसकेको र ठेकेदारले समयमै काम नगरेका कारण ढिला भएको हो । चालू आर्थिक वर्षमा सबै परिवारमा बिजुली बत्ती पुर्‍याउनेछौं ।

सरकारप्रति जनताको विश्वास बढाउन सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौं । हरेक सूचना प्रवाह गर्न सामाजिक सञ्जाल र वेबसाइट प्रयोग गरिरहेका छौं । अझ चुस्तदुरुस्त बनाउन सचिवालयसँग छलफल गरिरहेको छु ।

प्रस्तुति: राजेन्द्र बस्नेत

पालिका प्रेस
थप जानकारी