मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ मा सञ्चालन भएको अपाङ्गता परिचयपत्र वितरण शिविरमा २४ जनाले परिचयपत्र पाएका छन् ।

थाहानगरको महिला बालबालिका, जेष्ठ नागरिक तथा अपांगतता परिचयपत्र वितरण शाखाको आयोजनामा आग्रा स्वास्थ्य चौकीमा आयोजना गरिएको हो । ग्रामिण भेगमा रहेका र नगरसम्म पहुँच समेत नभई परिचयपत्र पाउनबाट वञ्चित अपाङ्गता भएकाहरुलाई लक्षित गरी आग्रामा शिविर आयोजना गरिएको शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् । अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै परिचय पत्र वितरण गर्ने वडास्तरीय घुम्ती शिविर आयोजना गरिएको नगर उपप्रमुख भरत गोपालीले बताए ।

वडा भित्रका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी सरकारबाट पाउने सेवा सुविधा व्यवस्थापनमा कुनै कमी नहोस भनेर शिविरको आयोजना गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरेको प्रतिक्रिया थियो । शिविरमा ऐन बमोजिम पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता, मध्यम अपाङ्गता र साधारण अपाङ्गता गरी चार किसिमको परिचय पत्र वितरण गरेको सामाजिक विकास अधिकृत अनिल लामिछानेले बताए ।

शिविरमा पालुङ स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शक्ति चौरासिया र स्वास्थ्यकर्मी करुणा घिमिरेले अपाङ्ता भएकाहरुको स्वास्थ्य परीक्षण गरी अपाङ्गता भएकाहरुको वर्गीकरणको सिफारिस गरेका थिए । शिविरमा थाहा नगर उपप्रमुख भरत गोपाली, ८ नम्बर वडा अध्यक्ष हेमराज थिङ, थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, अपांग परिचयपत्र वितरण शाखा प्रमुख प्रतिमा मोक्तान, थाहानगर सामाजिक विकास सदस्य पवित्रा सिंह ठकुरी, एमआइएस सेवा इकाईका लक्ष्मण कण्डेल, अपांग बाल अस्पतालका स्वास्थ्यकर्मी रुद्र सापकोटा, अपांग सरोकार समिति थाहाका अध्यक्ष मनलाल गोपाली, आग्रा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको समेत सहभागी रहेको थियो । शिविरमा अपांगतता भएकाहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी