उपभोक्ता समितिमार्फत् रहेका धाराहरु क्रमशः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण हुन थालेका छन् । उपभोक्ता समितिमार्फत् छरिएर रहेका धाराहरु बोर्डको सेवा चुस्तदुरुस्त भएपछि धमाधम हस्तान्तरण भइरहेको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिए । २८ चैतमा हेटौंडा–१८, हर्नामाडीस्थित ठूलोदमारमा रहेको हर्नामाडी डीप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गत्का १ सय ८६ वटा धारा बोर्ड मातहत हस्तान्तरण गरिएको छ । उपभोक्ता समिति अध्यक्ष रामकृष्ण बानियाले बोर्ड अध्यक्ष प्रताप विष्टलाई सम्पूर्ण कागजात हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा हेटौंडामा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया, वडाअध्यक्ष अनिलकुमार बानिया, पूर्वगाविस अध्यक्ष शिवबहादुर रिजाल, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, बोर्ड कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटा तथा हर्नामाडी सहलगानी खानेपानी समिति अध्यक्ष केशव पण्डितलगायत उपस्थित थिए । बोर्ड मातहत आएसँगै स्थानीयले न्यूनतम पानी महसुलमा छुट प्राप्त गर्नुका साथै धारा जडान शुल्कमा सहुलियत प्राप्त गर्नेछन् । हाल उपभोक्ता समितिमार्फत् धारा जडान गर्दा दशहजार रुपैया“ तिर्दै आएका उपभोक्ताले अब ३८ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

‘अब उपमहानगरपालिकाले तोके अनुसारको न्यूनतम महसुल यसै महिनाबाट छुट गर्ने व्यवस्था मिलाउने छौं ।’, बोर्ड अध्यक्ष विष्टका अनुसार मासिक दशहजार लिटरसम्म पानी नगरका उपभोक्तानले निःशुल्क प्राप्त गरिरहेका छन् । नगरभर रहेका उपभोक्ता समितिलाई विस्तारै बोर्डअन्तर्गत् ल्याउन छलफल भइरहेको उनले बताए । न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा हेटौंडा–१०, न्यूरेनीमा रहेको उपभोक्ता समितिको १५० वटा धारा बोर्डमार्फत् आइसकेको छ । हेटौंडा–१४, बनेलधापमा रहेको २ लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकी समेत बोर्डलाई हेटौंडा उपमहानगरपालिकाले हस्तान्तरण गरिसकेको छ ।

हेटौंडा–१३, पदमपोखरीस्थित ठूलोथली खानेपानी तथा उपभोक्ता समितिमार्फत्का एक हजारभन्दा बढी धारा बोर्ड मातहत चालु आर्थिक वर्षमै हस्तान्तरण हुने क्रममा रहेका छन् । हेटौंडा–१८, हर्नामाडीमा रहेको सहलगानी, भौडी खानेपानी र बुदुने, हेटौंडा–३, बसामाडीको मिलन टोल तथा हेटौंडा–६, कल्याणीटारस्थित खानेपानी उपभोक्ता समिति बोर्ड मातहत आउने क्रममा रहेको छ । ‘यस आर्थिक वर्षमा २२ सयभन्दा बढी धाराहरु बोर्डमा आउनेछन् ।’, न्यौपानेले भने । बोर्डले हाल २३ हजार २७० धारामार्फत पानी वितरण गरिरहेको छ । दैनिक १ करोड ८५ लाख लिटर पानी बोर्डले वितरण गर्ने गरेको छ ।

पालिका प्रेस
थप जानकारी