मकवानपुर थाहानगरको प्रसिद्ध ऋषेश्वर मन्दिर जाने बाटो वरपर सरसफाई गरिएको छ । सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै थाहा नगरपालिका वडा नम्बर ४ किटेनीको सक्रिय युवा क्लबका युवाहरुले ३० चैतमा ऋषेश्वर मोड तथा बाटो वरपर सफा गरेको कार्यक्रमका अगुवा तथा साहित्यकार भद्रध्वज गौतमले बताए । सो क्लबले ११ चैतमा पनि सरसफाई कार्यक्रम संचालन गरेको थियो ।

सरसफाईको साथै उनीहरुले ठाउँठाउँमा जथाभावी फोहोर नफाल्न आग्रह गरिएको सन्देश लेखिएको सुचना बोर्ड पनि राखेको क्लवका कृष्णजी स्याङ्तानले जानकारी दिए । मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले फालेका पानीका बोतल, पुजा सामाग्री लाने प्लाष्टिक, सिसि, कागजहरु लगायतका सामाग्री सरसफाईको क्रममा संकलन गरी बोरामा प्याक गरेका छन् ।

त्रिभुवन राजमार्गबाट एक हजार मिटर पैदल हिडेर पुगिने जिल्लाकै प्रसिद्ध धार्मिक स्थल जाने बाटो र मन्दिर फोहोर भएपछि स्थानीय युवाहरुले चासो देखाएका हुन् ।