थाहानगरको बज्रवाराही स्थित बाराही चौरमा भएको प्रथम निष्पक्ष मकवानपुर जिल्लास्तरीय रनिङ शिल्ड भलिबलको उपाधि वागेश्वरी युवा क्लवले हात पारेको छ । १ वैशाखमा भएको फाइनल खेलमा बागेश्वरीले आयोजक निष्पक्ष युवा क्लव ‘बी’ लाई ३ –१ को सेटमा पराजित गर्दै उपाधी चुमेको हो ।

जितसंगै वागेश्वरीले नगद ६१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने आयोजक निष्पक्षले नगद ३१ हजार सहित ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेश्रो भएको आमभन्ज्याङ युवा क्लबले नगद १६ हजार प्राप्त गरेको छ । प्रतियोगितामा वागेश्वरी युवा क्लवका कोच किरण गिरी उत्कृष्ट कोच घोषित भए भने वागेश्वरीकै खेलाडी सविन कार्की प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदा बेस्ट स्पाइकर मनिस तामाङ, वेस्ट ड्रीफेन्ट रोशन गोपाली र निष्पक्षका राजकुमार कर्मचार्य बेस्ट लिफ्टर घोषित भए । बेस्ट ब्लकरको उपाधी भने आमभन्ज्याङ युवा क्लवका अनिस घलानले हात पारे ।

प्रतियोगितामा विजयी टिम र खेलाडिहरुलाई प्रमुख अतिथी नेपाल निर्माण व्यावसायी महासंघका पुर्व अध्यक्ष जयराम लामिछाने तथा विशिष्ट अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गरेका थिए । निष्पक्ष युवा क्लवका अध्यक्ष विजेन्द्र गोपालीको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण समारोहमा थाहा नगरपालिका खेलकुद विकास संयोजक टिकाराम स्याङ्तान, वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली लगायतका खेलप्रेमीको उपस्थिति रहेको थियो । क्लव स्थापनाको २० बर्षपछि पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष गोपालीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी