सर्लाहीको गडैता नगरपालिका – ७ का वडाध्यक्ष दिनेशकुमार दासले वृद्धभत्ताका लागि आमा र काकीको जन्ममिति बदलेर अनियमितता गरेका छन् । वडामा उनीहरूसहित आठजनाले उमेर बढाएर वृद्धभत्ता लिएका छन् ।

मतदाता नामावलीमा दासकी आमा सुनैना देवीको जन्ममिति २ भदौ ०२३ रहेकोमा सुरक्षा भत्ता सूचीमा ३० चैत ००५ अर्थात् १८ वर्ष बढी छ । त्यस्तै, काकी सुनैना देवी कतबनियाको जन्ममिति मतदाता नामावलीमा १५ साउन ०१५ रहेकोमा सामाजिक सुरक्षा भत्ता लिने सूचीमा आठ वर्ष बढी अर्थात् २७ मंसिर ००७ बनाइएको छ ।

वडा कार्यालयका सहयोगी रवीन्द्र दासका बुबा दिनेश दासको पनि मतदाता नामावलीमा १५ माघ ०१४ जन्ममिति रहेकोमा सामाजिक सुरक्षा भत्तासूचीमा ३० चैत ००४ छ । त्यस्तै, स्थानीय हरिनारायण राउतको मतदाता नामावलीमा जन्ममिति ६ जेठ ०१९ र सामाजिक सुरक्षा भत्तासूचीमा ३० जेठ ००७ राखिएको छ ।

अर्का स्थानीय रामलोचन दासको मतदाता नामावलीमा जन्ममिति ९ असोज ०१९ छ, तर सामाजिक सुरक्षा भत्तासूचीमा ९ असोज ००८ उल्लेख छ । त्यस्तै, मनतोरणी देवी कतबनियाको मतदाता नामावलीमा २२ चैत ०१३ र  सामाजिक सुरक्षा सूचीमा  २२ चैत ००८, प्रमकला देवीको मतदाता नामावलीमा १२ पुस ०२९ र भत्तासूचीमा १२ पुस ००८ तथा अकलु दासको मतदाता नमावलीमा २३ माघ ०२३ र सामाजिक सुरक्षा भत्तासूचीमा २३ पुस ००८ राखिएको छ । कैलाश दासको पनि मतदाता नामावलीमा जन्ममिति १ चैत ०१९ रहेकोमा बढाएर १ चैत ००९ बनाइएको छ ।

वडाध्यक्ष दिनेशकुमार दास मतदाता नामावली र ज्येष्ठ नागरिक भत्ता नामावलीमा जन्ममिति फरक पर्नु सामान्य रहेको तर्क गर्छन् । ‘कतिपयको मतदाता नामावलीमा उल्लेख जन्ममिति र ज्येष्ठ नागरिक भत्तासूचीमा दर्ता जन्ममिति फरक देखिन्छ । तराईमा यो सामान्य प्रक्रिया हो,’ उनले भने, ‘यस्तो किन हुन पुग्यो ? यसबारे अनुसन्धान गर्ने निकाय जिल्ला प्रशासन कार्यालय हो । स्थानीय पञ्जिकाधिकारीले नै यस्तो गरेपछि हाम्रो केही लाग्दैन ।’

पालिका प्रेस
थप जानकारी