विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संस्थागत विद्यालयहरुलाई आग्रह गरेका छन्। नयाँ शैक्षिक सत्र सुरु हुँदै गरेको अहिलेको सन्दर्भ उठाउँदै प्रमुख शाहले महानगरपालिका क्षेत्रभित्र रहेका निजी तथा संस्थागत विद्यालयहरुलाई निमयसंगत उपलब्ध गराउनु पर्ने छात्रवृत्ति प्रदान गर्न ध्यानाकर्षण गराएका हुन्।
‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा छात्रवृत्ति सम्बन्धी व्यवस्था छ । यो नियमअनुसार निजी तथा संस्थागत विद्यालयहरुले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्नुपर्छ ।’ प्रमुख शाह भन्छन्, ‘विद्यालयहरूले कुल विद्यार्र्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ ।‘
‘नियमको पालना गर्ने विद्यालयको दायित्व हो । अभिभावक र सरोकारवालाले नियम पालना भए नभएको निगरानी गर्नुपर्छ,’ उनी भन्छन्। प्रमुख शाहले व्यवस्था कार्यान्वयनका लागि आग्रह गर्दै आवश्यक परेमा कानुनबमोजिम कारवाही प्रक्रिया अगाडि बढाउन महानगर बाध्य हुने बताएका छन्।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्