स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रम थाहा नगरपालिकामा सुरु भएको छ । १९ वैशाखमा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेश अध्यक्ष लिला कुमार घलानको अध्यक्षता तथा थाहा नगरपालिकाका नगरपालिका प्रमुख विष्णु बहादुर बिष्टको प्रमुख आतिथ्तामा उद्घाटन गरिएको हो।

मातृभाषा तथा स्थानीय विषयमा शिक्षा गुणस्तरिय तथा वैज्ञानिक शिक्षाको सुनिश्चितता भन्ने उद्देश्कासाथ यो कार्यक्रमको सुरुवात गरिएको हो । जिल्लाका १० स्थानीयतहहरु मध्ये मातृभाषा तथा स्थानीय विषयक कार्यक्रम गराउनेमा पहिलो पालिका थाहा नै रहेको नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेको भनाइ छ । गोलेले भने–‘मातृभाषामा शिक्षा भनेको व्यक्तिले बोल्ने पहिलो भाषामा पठन पाठन गर्नु हो, यो विषयले विश्वका विभिन्न देशमा मौलिक अधिकार सरहको अधिकार प्राप्त गरेको छ ।’

नेपालमा मातृभाषामा शिक्षा कार्यक्रम वि. सं २०५५ देखि सुरू भएको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रले २४ वटा मातृभाषामा प्राथमिक तहसम्मको पाठ्यपुस्तक तयार गरेको छ। थाहा नगरपालिका भित्रका छनोटमा परेका विद्यालयमार्फत एक–एक जना शिक्षक लगाएतको कार्यक्रमममा सहभागिता छ । प्रशिक्षकमा माृभाषाका भाषा विज्ञ डाक्टर लोक बहादुर लोप्चन, भाषा आयोगका पुर्व अध्यक्ष लवदेव अवस्थी र नेपाल तामाङ घेदुङ संघका महासचिव काजिमान थिङ तामाङ लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् ।

थाहा नगरपालिका तथा भाषा आयोग काठमाडौको सहकार्य तथा नेपाल तामाङ घेदुङको बागमती प्रदेश समितीको आयोजनामा उक्त मातृभाषा शिक्षा कार्यक्रम सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वडा अध्यक्षहरु, थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, थाहानगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, तामाङ भाषा तथा लिपि प्रशिक्षक प्रतीक तामाङ, प्रशिक्षक लिला तामाङ, नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष आत्मराम मोक्तान, जिल्ला सचिव किरणमान बल, नगर अध्यक्ष दिपक कुमार लामालगाएत विभिन्न विद्यालयका शिक्षक, थाहानगर शिक्षा समितिका सदस्यहरु तथा स्थानीय शिक्षा प्रेमी व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।
थाहा नगरपालिकाको नयाँगाउँमा अवस्थित होटल पाइनसमा सुरु भएको कार्यक्रम २३ बैशाखसम्म संचालन हुने छ ।

पालिका प्रेस
थप जानकारी