उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो ।

सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्ने र पुनः दरखास्त दिँदा शुल्क तिर्न नपर्ने लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको हो ।

डाटा रिकभरीको प्रयास भइरहेको तर यो प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने एकिन गर्न नसकिने भएकाले २०८० साल जेठ महिनादेखि सन्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित भएको आयोगले जनाएको छ । पुनः दरखास्त दिँदा पहिले जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने छ । पुनः दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरु अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ । साथै साविकमा स्वीकृत हुन बाँकी रहेका दरखास्तसँग सम्बन्धित पुनः दरखास्तहरु जाँच गरी यथाशीघ्र स्वीकृतिको कार्य सम्पन्न गर्ने पनि आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
दरखास्त स्वीकृत भएको जानकारी सम्बन्धित उम्मेदवारहरुले एसएमएसबाट प्राप्त गर्नेछन् । दरखास्त स्वीकृत भएपछि नयाँ रोलनम्बरसहितको प्रवेशपत्र जारी हुने आयोगले जनाएको छ ।
पालिका प्रेस
थप जानकारी