मकवानपुरमा पछिल्लो समय निकै चर्चित पर्यटकीय स्थलका रुपमा चिनिएको लटारम्मेश्वर पुग्ने छोटो मार्ग बनाउन भीमफेदी गाउँपालिका लागेको छ । भीमफेदी गाउँपालिकाले दुई करोड भन्दा बढी लगानी गरेर ८ नम्बर वडास्थित लटारम्मेश्वर महादेव मन्दिर पुग्ने सडक र पदमार्ग निर्माण गरिरहेको छ । लटारम्मेश्वर बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको सीमानामा रहेको डब्लूडाँडाको बीचको टाकुरामा रहेको छ ।

हिन्दु धर्मको पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीले देहत्याग गरेपछि महादेवले उनको शरीर लिएर हिँडने क्रममा उनको जटा (टाउकोको कपाल) पतन भएको स्थानको रुपमा उक्त क्षेत्रलाई लिइन्छ । सतिदेवीको जटा झरेर पतन भएको पौराणीक कथा अनुसार उक्त स्थानको नाम लटारम्मेश्वर महादेव भएको बताइन्छ । हरेक वर्ष माघे सक्रान्ती र बैशाख १ गते यहाँ विशेष मेला लाग्ने गरेको छ । विगतमा १ माघमा मात्रै लाग्ने गरेको मेला पछिल्ला वर्षमा १ वैशाखमा पनि मनाउन थालिएको छ । लटारम्मेश्वर पुग्ने दुई वटा बाटोहरु छन् । एउटा बकैया गाउँपालिकाको ठिंगन नजिक खोरभञ्ज्याङबाट र अर्को भीमफेदी–८, महादेवटारबाट पुग्न सिकन्छ । खोरभञ्ज्याङबाट भने लटारम्मेश्वर पुग्न निकै टाढा र धेरै पैदलयात्रा गर्नुपर्ने हुन्छ । तर, भीमफेदीतर्फको महादेवटारबाट भने छोटो समयमै लटारम्मेश्वर पुग्न सकिने भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा बताउँछन् । उनका अनुसार महादेवटार भन्दा माथि डाँडासम्म सवारीसाधन पु¥याउन गाउँपालिकाले सडक निर्माण गरिरहेको छ ।

सवारीसाधन रोकिएको स्थानबाट करिब १ घण्टाको पैदलयात्रामा लटारम्मेश्वर पुग्न सकिने अध्यक्ष लामाले बताए । गाउँपालिकाले सडक मार्ग र पदमार्ग निर्माणका लागि २ करोड भन्दा बढी खर्चिन बजेट छुट्याइसकेको उनको भनाई छ । बकैयाको खोरभञ्ज्याङबाट भने करिब ४–५ घण्टाको पैदल यात्रापछि मात्रै लटारम्मेश्वर पुग्न सकिन्छ । छोटो र सहज यात्राबाटै लटारम्मेश्वर पुग्न सकिने गरी भीमफेदी गाउँपालिकाले लगानी गरि रहेको हो । लटारम्मेश्वर पुग्न काठमाडौंबाट पनि नजिक पर्दछ । काठमाडौंबाट ललितपुरको बागमती गाउँपालिका हुँदै मकवानपुरको सीमनास्थित बागमती पुल नजिकैबाट भीमफेदीको महादेवटार जाने उकालो लागेपछि लटारम्मेश्वरको फेदीमा पुगिन्छ । धार्मिक पर्यटनका हिसाबले लटारम्मेश्वर महादेवको मन्दिर पर्यटकीय गन्तव्य बनेको छ ।

समुन्द्री सतहबाट एक हजार ८ सय ५६ मिटरको उचाइमा रहेको यो मन्दिरबाट देखिने मनोरम हिम शृंखलाले पर्यटकलाई पुलकित बनाउँछ । संघीय सरकार र बागमती प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गतवर्ष २०७८÷०७९ मा २० लाख रुपैयाँ लगानी गरी भौतिक पूर्वाधारको काम गरेको थियो । जुन चालू आर्थिक वर्ष २०७९÷०८० मा पनि निरन्तरा दिइएको छ । ‘हामीले यो ठाउँमा गरि रहेको काम भनेको यो वर्ष झण्डै पाँच सय मिटर लिफ्ट गरेर खानेपानी ल्याउँदै छौँ । यहाँ खानेपानी र बिजुलीको मुख्य समस्या छ । बिजुली पनि ल्याउने छौँ ।’, गाउँपालिका अध्यक्ष लामाले भने ।

नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यलयवाट थप ३८ लाख बजेट स्विकृत भइ विद्युतीकरण कार्यक्रम संचालनको लागि कार्यदेश प्राप्त भएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । उक्त विद्युतवाट भीमफेदी गाँउपालिकाको ४० लाख लगानीमा झण्डै १५ सय मिटर तल चिलाउने लेकबाट खानेपानीलाई मन्दिर क्षेत्रमा लिफ्टिङ कार्य गरिने अध्यक्ष लामाले बताए । आगामी आसार मसान्तसम्म उक्त कार्य सम्पन्न हुने बताइएको छ । खानेपानीको सुविधा नहुँदा मन्दिर पुग्ने तिर्थालु भक्तजनलाई समस्या हुने गरेको थियो ।

पालिका प्रेस
थप जानकारी