युवा तथा खेलकुद मन्त्रालयको तथा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा १५ देखि १७ वैशाखसम्म काठमाडौमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कवड्डी तर्फको राष्ट्रिय प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएकी जनकल्याण माविकी छात्रा निश्कला बिष्टलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।

विद्यालयले २१ वैशाखमा औपचारिक कार्यक्रमको आयोजना गरी खेलाडी विष्टलाई नगद सहित सम्मान गरेको हो। जनकल्याण माविमा कक्षा ११ मा मानविकी संकायमा अध्यनरत बिष्टले थाहानगर छनोटमा प्रथम, जिल्ला स्तरीय छनोट, प्रदेश स्तरीय छनोट हुँदै राष्ट्रिय प्रतियोगिताको लागि छनोट भएकी थिइन् ।

थाहानगरको कुनै पनि खेलाडीको लागि यो ऐतिहासिक सफलता भएकोले नगरपालिकाको गौरव बढेको विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले विजेता खेलाडी निश्कला बिष्टलाई सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक रामकुमार बल, कवड्डी प्रशिक्षक राखी लामा, शिक्षक महासंघ थाहाका अध्यक्ष राजाराम कार्की, सहायक प्रधानाध्यापक कृष्ण बहादुर बिष्टलगायत शिक्षक तथा कक्षा ११ का विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी