हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको कल्याणटार खड्कुले खानेपानी उपभोक्त समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरी उपभोक्ता समितिले बोर्डलाई खानेपानी समितिको फाइल हस्तान्तरण गरेको हो । कल्याणटार खानेपानी उपभोक्त समितिबाट १ सय ७ धारा हेटौंडा खानेपानी बोर्डमा हस्तान्तरण भएकोे छ । हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा खानेपानी उपभोक्ता समितिका अध्यक्ष विश्वराज राईको सभाअध्यक्षता रहेको थियो । कार्यक्रममा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट, हटौंडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेललगायतको उपस्थिति रहेको थियो ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा एक वर्षमा ३ वटा उपभोक्ता समिति गाभिएको छ । हेटौंडा खानेपानी बोर्डबाट २३ हजार ५ सय घरधुरीले पानी खाइरहेका छन् । हेटौंडा उपमहानगरपालिकाको निर्णयबमोजिम एक महिनामा १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराइँदै आएको छ । पालिकाको निर्णयअनुसार करिब ८ हजार घरपरिवारले निःशुल्क पानी खाइरहेका छन् ।

खानेपानी बोर्डबाट दैनिक १ करोड ८७ लाख लिटर पानी खपत हुँदै आएको छ । तत्कालीन खानेपानी संस्थान खानेपानी बोर्डमा हस्तान्तरण हुँदा १४ हजार ९ सय धारा हस्तान्तरण भएको थियो । बोर्डले मासिक करिब १ करोड आम्दानी गर्दै आएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी