मकवानपुर थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले विभिन्न कार्यक्रममा सहभागी भए वापतको भत्ता विद्यार्थीको पढाइका लागि हस्तान्तरण गरेका छन् । उपप्रमुख गोपालीले आफ्नै कार्यकक्षमा खुत्रुकेमा जम्मा गरेको ७ हजार ८ सय रुपैयाँ अध्ययनका लागि प्रदान गरेका हुन् ।

उपप्रमुख पदमा सपथ लिएको एकवर्ष पुगेको अवसर पारी ७ जेठमा गोपालीले जनकल्याण माविमा कक्षा ९ मा अध्यनरत समीर केसी र अमिर केसीलाई सहयोग गरेका हुन् । उनले केसी दाजुभाईका आमा उर्मिला केसीलाई छोराहरुको अध्ययनको लागि नगद हस्तान्तरण गरे । थाहा नगरपालिका वडा नम्बर ४ कि उर्मिला केसीका छोराहरु शैक्षिक सामाग्री अभावको कारण विद्यालय जान नसकिरहेको भन्ने थाहा पाएपछि आफुले दुई विद्यार्थीको शैक्षिक सामाग्री खरिद गर्नको निम्ति विद्यालयका प्रधानाध्यापकको रोहवरमा अभिभावकलाई नगद हस्तान्तरण गरेको उपप्रमुख गोपालीले बताए ।

नगद प्राप्त गरेपछि अभिभावक उर्मिला केसीले आफुले प्राप्त गरेको रकम आफ्ना दुई छोराहरुको शिक्षाको निम्ति खर्च गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले छोराहरुको पढाइका लागि सहयोग गर्ने उपप्रमुख गोपालीलाई धन्यवाद दिइन् । हस्तान्तरण कार्यक्रममा जनकल्याण माबिका प्रधानाध्यापक सानोभाई कार्कीले उपप्रमुखको यस कार्यले शैक्षिक सामाग्री अभावमा विद्यालय जानबाट बञ्चित विद्यार्थीलाई उर्जा मिलेको बताउदै कोहि पनि बालबालिका शिक्षाबाट बन्चित हुन नहुने बताए । कार्कीले समाजका अगुवाहरुको शिक्षामा अभिभावकत्व महत्वपूर्ण हुने बताए।

उपप्रमुख गोपालीले १३ वर्षदेखि पालुङ जेसिजमा अक्षय कोष खडा गरी प्रत्येक वर्ष भरत रत्न छात्रवृत्ति प्रदान गर्दै आइरहेका छन् ।

पालिका प्रेस
थप जानकारी