मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले वार्षिक कार्यक्रम अन्तरगत ६ जना चेलीहरुलाई नगद सहित सम्मान गरेको छ । बुधबार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच ६ जना चेलीहरुलाई नगद बीस हजार सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

प्लटु पास गरी २० वर्ष पारी गरी विवाह गर्ने कैलाश गाउँपालिका निवासी ६ जना चेलीहरुलाई सम्मान गरिएको हो । गाउँपालिकाले नीति तथा कार्यक्रममा समेट्दै चेली प्रोत्साहन कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको हो । सम्मानित हुनेमा कैलाश ६ की संगीता ढुङ्गाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश १० की सरुया प्रजा र उर्मिला थिङ, कैलाश २ की लक्ष्मी मोक्तान रहेकी छिन् ।

गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एंव वडा २ का वडा अध्यक्ष राजेन्द्र घिसिङको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । सम्मान गर्दै अध्यक्ष मोक्तानले पालिकामा हुने बालविवाहलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनी यस कार्यक्रम ल्याइएको बताए । छोराछोरी दुबै पढ्नुपर्छ र २० वर्ष पछि मात्रै विवाह गर्नु पर्छ भन्ने सन्देशका साथ यस कार्यक्रमलाई लागु गर्दै ६ जना चेलीहरु सम्मान गर्दै कार्यक्रमलाई सुरुवात गरिएको बताए । यस कार्यक्रमले बालविवाहलाई निरुत्साही गर्नुका साथै छोरीलाई पनि शिक्षा दिनुपर्छ भन्ने जनचेतना फैलने अध्यक्ष मोक्तानले बताए । यस वर्ष ६ जनालाई सम्मान गरियो आगामी वर्ष धेरै चेलीहरु सम्मान गर्ने मौका मिलोस् भनी गाउँबासीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, पालिका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, शिक्षा विकास शाखाका प्रमुख सुरेन्द्र थिङलगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी