तेस्रो मेयरकप फुटबल प्रतियोगिता–२०८० को उपाधि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ ले जितेको छ । २७ जेठमा हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलको टाइब्रेकरमा हेटौंडा–१५ लाई ४–३ गोलअन्तरले पराजित गर्दै हेटौंडा–११ च्याम्पियन भएको हो ।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको नतीजाको छिनोफानो टाइब्रेकरमा गरिएको थियो । विजयी खेलाडी तथा प्रशिक्षकलाई हेटौंडाकी मेयर मीना लामाले पुरस्कार वितरण गरेकी थिइन् । ११ नम्बर वडाले नगद २ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै उपविजेता बनेको १५ नम्बर वडाले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमीफाइनलमा पराजित भएको वडा नम्बर १३ र १४ ले सान्त्वनास्वरुप ५०–५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा नगरका १९ वटा टोलीको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी