नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी ( नेकपा एस) इन्द्रसरोवर गाउँ कमिटीले इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीलाई १ असारमा ज्ञापनपत्र बुझाएका छन् । स्थानीय तहको दोस्रो कार्यकालका लागि भएको गाउँकार्यपालिकाको निर्वाचनका क्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी इन्द्रसरोवर गाउँ कमिटी र नेकपा एमाले इन्द्रसरोवर गाउँपालिका कमिटि तथा कार्यदल बिचमा १३ बुँदे सहमति भएकोमा उक्त सहमतिलाई नेकपा एमाले र उक्त पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्षले कार्यन्वयनमा नल्याएइपछि वाध्य भएर यो कदम चाल्नु परेको नेकपा एकीकृत समाजवादी गाउँ पार्टी कमिटिका अध्यक्ष कुन्साङ लामाले बताए ।

 दुई दलबीच मिति २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात मिति २०७९ जेष्ठ १० गतेका दिन नेकपा एकिकृत समाजवादी इन्द्रसरोवर गाउँ कमिटी र नेकपा एमाले इन्द्रसरोवर गाउँ कमिटी सचिवालय तथा कार्यदल पदाधिकारीहरु बिच अति सौहार्दपूर्ण वातावरणमा दुई दल बिचको आपसी मित्रतालाई जीवन्त दिँदै सुन्दर भविष्यको परिकल्पना सहित १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भई उक्त समझदारी मुताविक गाउँ कार्यपालिका गठन गरिएकोमा एक वर्षे कार्यकाल समेत व्यतित भैसक्दा पनि समझदारी पत्रको बुँदा नम्बर १ देखि ४ र ८ अनि ९ को आंशिकरुपमा बाहेक अरु कुनै पनि बुँदाहरु कार्यन्वन गर्न सम्झौता पत्रमा हस्ताक्षर पक्ष दल नेकपा एमाले इन्द्रसरोवर गाउँ कमिटी र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष इमान्दार नदेखिएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी बागमती प्रदेश कमिटी सदस्य एवम् इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामाको आरोप छ ।

स्थानीय सत्ता साझेदार दलसँग कुनै समन्वय, परामर्श तथा सामान्य छलफल समेत नै नगरिकन स्वेच्छाचारी ढंगबाट अघि बढ्दै गरेको हुनाले सम्झौता पत्रका पहिलो पक्ष दल नेकपा एकिकृत समाजवादी इन्द्रसरोवर गाउँ कमिटी गहिरो खेद प्रकट गर्दै उक्त परिपाटी अझै निरन्तरता रहे आगामी आसन्न गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम देखि उप्रान्त तपाईको नेतृत्वमा रहेको स्थानीय सरकारलाई हाम्रो पार्टीबाट आजसम्म दिदै आएको समर्थनमा पूनर्बिचार गर्दै निःसङ्कोच विपक्षमा उभिने समेत अध्यक्ष कुन्साङ लामाले चेतावनी दिए ।

एमाले नेतृत्वमा रहेको इन्द्रसरोवर गाउँपालिकाले आजसम्म गर्दै आइरहेका योजना तथा कार्यक्रम छनौट र जनसरोकारका अति आवश्यक क्रमागत योजना÷कार्यक्रमहरुलाई बजेट विनियोजनमा भएको विभेद, ढुङ्गाा, गिट्टी, बालुवा लगायतका नदिजन्य पदार्थहरु चोरी निकासी एवम् अवैधानिक अन्य कुराहरु साथै गाउँपालिका भित्र संचालित विभिन्न योजना तथा कार्यक्रमहरुको प्राविधिक मापदण्ड भन्दा विपरित परिमाण र गुणस्तरमा निष्पक्ष अनुगन तथा मुल्याङ्कनको अभाव भएको औल्याउँदै जनविरोधी कार्यहरुको क्रमशः विरोध र भण्डाफोर गर्दै जानेमा समेत अध्यक्ष कुन्साङ लामाले ध्यानाकर्षण गराए ।

ज्ञापन पत्र बुझाउने क्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी बागमती प्रदेश कमिटी सदस्य तथा निवर्तमान गाउँपालिका अध्यक्ष जीवन लामा, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट निर्वाचित वर्तमान कार्यपालिका सदस्यद्वय शोभा कामी र रामकृष्ण कामी, वडा नम्बर ३ का वडा सदस्य तथा नेकपा एमाले इन्द्रसरोवर सह–इन्चार्ज बुद्धिराम डिम्डुङ, नेकपा एस गाउँपालिका कमिटी सचिब निर्वतमान ५ नम्बर वडा अध्यक्ष धनराज महर्जन, निवर्तमान कार्यपालिका सदस्य एबम् नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गाउँपालिका सचिवालय सदस्य मञ्जु रुम्बा तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी इन्द्रसरोवर गाउँ कमिटी र युवा संघ नेपाल इन्द्रसरोवर अध्यक्ष विष्णु महर्जन लगायतको बाक्लो उपस्थिति थियो ।

ज्ञापन पत्र बुझ्ने क्रममा गाउँपालिका अध्यक्ष पुडासैनीले पार्टीको निर्देशन बमोजिम विगतमा दुईदल बीच भएका सहमतिलाई कार्यन्वयनमा लैजाने प्रतिवद्धता जनाए । सह–इन्चार्ज डिम्डुङले विगतका सहमतिबाट भएका दुइ पार्टी बिचको मित्रतालाई कायम राख्दै आफ्नो पार्टी कमिटीसँग छलफल गरेर केहि दिन भित्रै सहमति कार्यन्वयनमा अहम भूमिका निर्वाह गर्ने बताए ।

हेर्नुहोस् ज्ञापनपत्र:

 

 

 

पुस्कल सागर
थप जानकारी