
मकवानपुरको थाहा नगरपालिका अन्तर्गत रहेको सबै १२ वटै स्वास्थ्य संस्थाले चालु आर्थिक वर्षबाट विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याउने भएका छन् । प्रणाली संचालनका लागि १२ साउनबाट दिइएको तीनदिने तालिम सकिएको छ ।
पालिकाको आयोजनामा भएको तालिममा ५ स्वास्थ्य चौकी र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रबाट २÷२ जना, तीन शहरी स्वास्थ्य केन्द्र तथा ३ आधारभूत स्वास्थ्य केन्द्रबाट १÷१ जना गरी तालिममा १८ स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई तीनदिनसम्म स्वास्थ्य निर्देशनालय बागमती प्रदेशकी विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली संयोजक ललितासिंह ठकुरीले सहजीकरण गरेकी थिइन् ।
यसअघि पालिकाबाट मात्र संचालन हुँदै आएको विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली अब प्रत्येक स्वास्थ्य संस्थाबाट संचालन हुने प्रशिक्षक ठकुरीले बताइन् । चालु आर्थिक वर्षबाट सबै स्वास्थ्य संस्थाहरुले औषधि तथा उपकरणको विवरण अनलाइन प्रणालीमै प्रविष्टी गर्ने थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । ‘औषधि चाहिए पालिकालाई स्वास्थ्य संस्थाहरुले अनलाईन प्रणाली मार्फत नै माग गर्दछन्, पालिकाले पनि अनलाइनबाटै हस्तान्तरण फारम तयार गरी आपूर्ति गछौं’–शाखा प्रमुख बलामीले भने । आपूर्ति सम्बन्धी सम्पूर्ण सूचना प्रणाली मार्फत नै हुने बलामीको भनाइ छ ।
कार्यक्रम समापनको अवसरमा सूचना प्रविधिमैत्री हुँदै पालिकाले गर्ने हरेक क्रियाकलापलाई व्यवस्थित गर्दै जाने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । सोे अवसरमा प्रशिक्षक ठकुरी, बज्रवाराही स्वास्थ्य चौकीकी प्रमुख जिनु डंगोललगायतले तालिम र प्रणालीको प्रभावकारीताको विषयमा मन्तव्य व्यक्त गरेका थिए । मकवानपुरका अधिकांश स्थानीय तहहरुले पालिकास्तरमा मात्र प्रयोग गर्दै आएको विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली थाहा नगरसहित हेटौंडा उपमहानगरपालिका, भिमफेदी र राक्सिराङ गाउँपालिकाका भने सबै स्वास्थ्य संस्थामा प्रयोग गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्