मकवानपुर थाहानगरमा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको काम करिब ७० प्रतिशत सकिएको छ । दुईवर्ष भित्र सम्पन्न गर्ने लक्ष्यकासाथ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, थाहा नगरपालिका र स्थानीय उपभोक्ताको साँझोदारीमा निर्माण भइरहेको आयोजना वडा नम्बर १, २, ३ र ४ मा संचालन भैरहेको छ । करिब १ सय किलोमीटर मुख्य पाइपलाईन मध्ये हालसम्म ६७ किलोमीटर पाइप विछ्याइ सकिएको छ भने ३३ वटा पानी ट्याङ्की निर्माण गर्ने लक्ष्य रहेकोमा २१ वटा निर्माण भैसकेको छ ।

थाहा नगरपालिका वडा नम्बर १ मा २१ किलोमीटर मुख्य पाइपलाइन विस्तार गरिएको छ । वडा नम्बर १ मा स्किम–१ अन्तर्गत भाटखोलामा ५० हजार लिटर क्षमताको एउटा ट्याङ्की, स्किम–२ अन्तर्गत केदार गोपालीको घरमाथि २० हजार लिटरको, भुटिङ्गल डाँडा, भवानी घरमाथि र सिस्टन्डडाँडामा ५/५ हजार लिटरको ट्याङ्की निर्माण भएको छ । त्यस्तै वडा नम्बर १ कै स्किम–३ अन्तर्गत एफएम डाँडामा १५ हजार लिटरको एउटा पानी ट्याङ्की निर्माण सम्पन्न भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्राविधिक प्रकाश पन्तले जानकारी दिए ।

वडा नम्बर २ मा ६ वटा पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ भने १४ किलोमीटर मुख्य पाइपलाईन विस्तार भएको छ । वडा नम्बर २ मा स्किम–७ अन्तर्गत काफलचौरमा १५ हजार लिटरको ट्याङ्की निर्माण सम्पन्न भएको छ । स्किम–६ अन्तर्गत ल्होत्सेपाखा, भोटखोरिया र ठूलोखोरमा १०/१० हजार लिटरको ३ वटा तथा काइलाबाजेको तगारो र देउराली डाँडामा २०/२० हजार लिटरको दुईवटा ट्याङ्की निर्माण सम्पन्न भएको छ ।

थाहा नगरपालिकाको वडा नम्बर ३ मा ५ वटा ट्याङ्की तथा १२ किलोमीटर मुख्य पाइपलाइन विस्तार भएको छ । यस वडामा स्किम–१२ अन्तर्गत बाउन्ने चौर, गुफाडाँडा, गोपाली गाउँमा ५०/५० हजार लिटरको ३ वटा, स्किम–८ अन्तर्गत राम्चे खोलामा एउटा र स्किम–१० अन्तर्गत बाहुनगाउँ माझाचौरमा ५०/५० हजार लिटरको दुईवटा ट्याङ्की निर्माण भएको छ । वडा नम्बर ४ मा ४ वटा ट्याङ्कीको काम सम्पन्न भएको छ भने २० किलोमीटर पाइपलाईन विस्तार भएको प्राविधिक पन्तले जानकारी दिए । ४ नम्बर वडाका स्किम–१३ अन्तर्गत आइतबारे डाँडा र तुल्सीचौरमा ५०/५० हजार लिटरको दुईवटा, चौडालपाखामा ३० हजार लिटरको एउटा तथा स्किम–१४ अन्तर्गत भूपिनडाँडामा ५० हजार लिटर क्षमतको एउटा ट्याङ्की निर्माण सम्पन्न भएको छ ।

त्यसैगरी ४ वटा ट्रिटमेन्ट प्लान्ट निर्माण गर्ने लक्ष्य अनुसार ३ वटाको पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ । स्किम–१२ अन्तर्गत पर्ने बाउन्नेचौर, स्किम–१३ अन्तर्गतको तुल्सीचौर र स्किम–१४ अन्तर्गतको कारुलखोला ट्रिटमेन्ट प्लान्टको निर्माण कार्य सम्पन्न भएको पन्तले बताए । स्किम–८ अन्तर्गतको राम्चेखोला मुहानको ट्रिटमेन्ट प्लान्ट भने निर्माण शुरु भएको उनले जानकारी दिए ।

प्राविधिक पन्तका अनुसार–‘वडागत रुपमा हेर्ने हो भने, वडा नम्बर २ को सबैभन्दा बढि काम सम्पन्न भएको छ भने दोस्रोमा वडा नम्बर ४, तेस्रोमा वडा नम्बर १ र सबैभन्दा कम काम भएको वडा ३ नम्बर रहेको छ ।’ यद्यपि तुलनात्मक रुपमा थाहानगरमा खानेपानीको काम द्रुतगतिमा भैरहेको प्राविधिक पन्तको भनाइ छ । निर्माण व्यसायीको कामको गतिसंगै उपभोक्ताको तर्फबाट पनि संचालन गर्नुपर्ने कार्यलाई क्रमशः अघि बढाउनुपर्ने उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी