स्याङ्जाका सबै स्थानीय तहको खानेपानीको मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ अत्यधिक मात्रामा भेटिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माका अनुसार जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो।

परीक्षण गरिएकामध्ये ४१ वटामा नमूनामा ‘कोलिफर्म’ भेटिएको हो। कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भीरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा आठ–आठ, बिरुवा र गल्याङमा ६–६, अर्जुनचौपारीमा पाँच, फेदीखोला र हरिनासमा चार–चार खानेपानीका नमूना सङ्कलन गरी परीक्षण गरेको थियो।

“मुहान, ट्याङ्की, धारा र घरबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा हुने कोलिफर्मको जीवाणु अत्यधिक पाइएको छ,” प्रमुख शर्माले भने, “सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराबाट समेत पानीका नमूना परीक्षण गरिएका थिए।”

बिरुवा गाउँपालिकाको नमूनामा सबैभन्दा बढी ६६.६ मात्रा र पुतलीबजार नगरपालिकाको नमूनामा सबैभन्दा कम ३१.२५ मात्रा कोलिफर्म भेटिएको छ। चापाकोट नगरपालिकामा ६२.६, फेदीखोला र हरिनास गाउँपालिकामा ५०.५०, भीरकोट नगरपालिकामा ४६.१, अर्जुनचौपारी गाउँपालिकामा ४० मात्रा कोलिफर्म भेटिएको प्रमुख शर्माले बताए।

यस्तै, गल्याङ नगरपालिकामा ३८ तथा वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७.५ मात्रा कोलिफर्मका जीवाणु भेटिएका थिए।

प्रमुख शर्माले गत वर्षको तुलनामा यस वर्ष पानीको शुद्धतामा केही मात्रा वृद्धि भएको बताए। उनले पानीको शुद्धता बढे पनि अत्यधिक कोलिफर्म भेटिनु सुखद नभएको उल्लेख गरे।

गत आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ नमूना परीक्षण गरिएकामा ५२ प्रतिशत नमूनामा कोलिफर्म भेटिएको थियो।

मानिस र जनावरको दिसापिसाबमा पाइने जीवाणुको समूह हो, कोलिफर्म। पानीमा कोलिफर्म भेटिए खान अयोग्य मानिन्छ। राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड, २०७९ अनुसार पानीमा कोलिफर्मको मात्रा प्रति १०० मिलिलिटर शून्य कोलोनी फर्मिङ युनिट (सीएफयू) हुनुपर्छ। अर्थात् पानीको कोलिफर्म हुनु हुँदैन।

-रासस

पालिका प्रेस
थप जानकारी