पर्यटकीय महत्व बोकेको मकवानपुरको थाहानगरमा धार्मिक पर्यटकहरुको आस्थाको थुप्रै केन्द्रहरु रहेका छन् । पर्यटकीय नगरी भनिदै आएपनि यथेस्ट पर्यटकमैत्री संरचना निर्माण हुन नसके जस्तै धार्मिक पर्यटकीय संरचनाहरु मठमन्दिर र शक्तिपिठहरु पनि मर्मतसंभारको कार्यबाट प्रायः छायाँमै छ । ऐतिहासिकता बोकेको ति संरचनाहरु लक्षित समुदायले घिस्रिमुन्टी चलनलाई धानेका छन्, मन्दिरहरु भगवान भरोसा संरक्षित छन् ।

धार्मिक पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मकवानपुरको थाहा नगरपालिकाका धार्मिक स्थलहरु संरक्षित छैनन् । अधिकांश धार्मिक परिसर तथा मन्दिर र पिठहरुको संरक्षण समिति न गठन भएका छन् न त गठन भएकाहरु पनि अद्यावधिक नै छन् । त्यसोतः स्थानीय सरकारको पनि सडक संरचना बाहेक अन्य क्षेत्र कहिल्यै प्राथमिकतामा पर्न सकेका छैनन् । यद्यपि थाहा नगरपालिकाले हालसम्म आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम (रातो किताब) सार्वजनिक गरिसकेको छैन । उक्त पुस्तक आएपछि यसवर्षको कार्यक्रमहरुको विषयमा छलफल र टिका टिप्पणी गर्न उपयुक्त हुने पालुङका एक स्थानीयले बताए ।

ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाहरुको जीर्णताको सूचक पछिल्ला पुस्ताले ति सम्पदाहरु कहानीमा मात्र सुन्न पाउनेमै पुगेर टुङ्गिने छ । अहिले धार्मिक विषयलाई लिएर बहस र छलफल गर्नेहरु कम भेटिन्छन् । भनिन्छ नि, ‘नजिकको तिर्थ हेला’ यो यर्थात थाहाको अन्य वडा र टोलमा पनि छ होला तर पालुङमा पनि एउटा प्रतिनीधि वास्तविकता छरफस्ट छ । त्यो हो,–‘चार नारायण मन्दिर ।’

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन बिहानैदेखि काठमाण्डौं उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौ उपत्यकामा चाँगुनारायण, शेषनारायण, शंखुुनारायण र विशंखुनारायण मन्दिर पर्दछ । यी नारायण मन्दिरलाई ‘चार नारायण’ भनिन्छ । चार नारायणको प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन पूजाआजा एवं दर्शन गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास रहेको छ । जहाँ पुजा गर्नका लागी देशभरका मानिसहरु पुग्ने गर्दछन ।

काठमाडौपछिको चार नारायण यहि थाहा नगरपालिका वडा नंम्बर २ को पालुङमा पर्दछ । पालुङमा रहेको चार नारायणमा चाँगुनारायण, शेषनारायण (दत्तात्रय नारायण) अर्थात ‘हरिहर नारायण’, शंखुनारायण र विशंखुनारायण मन्दिर नै पर्दछ । धार्मिक दृष्टिकोणले अत्यन्तै महत्व मानिने उक्त मन्दिरहरु अचेल संरक्षण र प्रचारको अत्यावश्यकतामा गुज्रिरहेका छन् । हरिबोधिनी एकादशीको दिनमा उक्त मन्दिरमा थाहा नगरपालिकाका बिभिन्न स्थानहरुबाट मानिसहरु पुजा आजा गर्न आउने भएता पनि पछिल्लो समय पुजा गर्न आउनेको संख्या घटेको पालुङका स्थानिय मधुकर बिक्रम श्रेष्ठले बताए ।

पालुङ गाउँको पुर्वदिशातर्फ चागुनारायण, पश्चिमतर्फ शंखुनारायण, उत्तरतर्फ बिशंखु नारायण र दक्षिणतर्फ शेषनारायण (दत्तात्रय नारायण)को मन्दिर रहेको छ । दक्षिणतर्फ रहेको शेषनारायण मन्दिरको गत आर्थिक वाषर््मा मर्मतसंभार भएको छ । पालिकाले नदेखेका यि मन्दिरहरु पुरातत्व विभागमा अभिलेख छ । यस मन्दिर पनि विभागले नै मर्मत गरेहेको स्थानीय निरोज प्राधानले जानकारी दिए । पालुङ शहरको पुर्वतर्फ रहेको चागुनारायण मन्दिर भने जिर्ण भएका कारण भुकम्प अघि नै स्थानियको पहलमा निर्माण गरिएको स्थानीय शिव बहादुर कार्कीले बताए । उनका अनुसार आफ्नै गाउँमा भएको नारायण मन्दिरहरुको नाम, महत्व र बिशेषताको बारेमा स्थानियहरुलाई नै खास जानकारी नभएको बताए ।

परापूर्व कालमा पालुङ गाउँको सुरक्षाको लागि पालुङको चारै दिशामा चार नारायण स्थापना गरिएको भए पनि हाल संरक्षण गर्ने निश्चित समिति र निकाय नभएको कारण मन्दिर जिर्ण अवस्थामा पुगेको पालुङका एक बुद्धिजीवी शम्भु राज नापितले बताए । उनका अनुसार चारैवटा मन्दिरको स्थापना छुट्टाछुट्टै समयमा भएकोले पनि कुनै जिर्ण त कुनै सामान्य अवस्थामा रहेको बताए । मन्दिरको अवस्था जिर्ण हुँदै गर्दा पनि समुदायमा उक्त मन्दिर संरक्षणको लागी कुनै समिती र सम्बन्धित निकाय नभएपछि संरक्षणको लागी घच्घच्याउन नसकिएको उनले बताए ।

थाहा नगरपालिकामा रहेका थुप्रै धार्मिक स्थलहरु मध्य पनि महत्त्वपूर्ण धार्मिक स्थलहरुको संरक्षण र प्रचारप्रसार गर्न सकेमा धार्मिक पर्यटक भित्र्र्याइ स्थानीयहरुको जीवनस्तर उकास्न र आम्दानिको स्रोत बढाउन सकिन्छ । जसको ज्वलन्त उदाहरणको रुपमा पालुङको चार नारायणको मन्दिर हो । यो धार्मिक सर्किट पनि हो । यस सर्किटको प्रचार र संस्कृति संरक्षणमा स्थानीयले गरेको पहलमा पालिका सरकारले सहयोग गरिदिनपर्ने स्थानीयबासीको माग रहेको छ ।

‘नारायण मन्दिरमा अर्को रहस्य’–पुरातत्व विभाग

थाहानगर पालुङको एउटा नारायण मन्दिरमा थप अर्को ऐतिहासिकता पत्ता लागेको छ । उपत्यका बाहिरको ऐहिासिक चार नारायण अन्तर्गतको शेषनारायणको नामले पुज्दै आएको मन्दिरमा थप रहस्यमय इतिहास पत्ता लागेको हो ।

पुरतत्व विभागले गत आर्थिक वर्षमा मात्र मर्मत र रंगरोगन गरेको उक्त मन्दिरको मुर्ति नेपालकै दुर्लभ भएको पुष्टि गरेको छ । त्यत्तिमात्र नभई मुर्ति दुई रुप धारण गरेकोले यो धार्मिक इतिहासको पनि दुर्लभ मध्येको एक भएको प्रतिक्रिया दिएको छ । मन्दिरमा रहेको मुर्तिमा एकापट्टी महादेव र अर्कापट्टी विष्णुको रुपमा रहेको छ । पुरातात्विक महत्व बोकेको यस मन्दिरको नारायणलाई ‘हरिहर नारायण’ भनिने नेपालमा पुरातात्विक विषयमा विद्यावारिधी गर्दै गरेको चन्द्रमान मुनिकारले बताए । ‘हरि भनेको विष्णु र हर भनेको महादेव हो, यस्तो मुर्ति विरलै छन् नेपालमा’ –मुनिकारले भने । उनले मन्दिर परिसरमै आएर उक्त मुर्तिको अध्ययन गरेका थिए ।

मुर्तिको आधा गलामा रुद्राक्षको माला देखिन्छ भने आधा गलामा देखिँदैन । चार वटा हात रहेको छ । दुई भिन्दाभिन्दै हातमा त्रिसुल र शंख समाएको मूर्तिमा देखिन्छ । मन्दिर अघि बसाह रहेको छ ।

पालिका प्रेस
थप जानकारी