चितवनको इच्छाकामना गाउँपालिकामा ३ सय ९३ घरपरिवार सुरक्षित खानेपानी सेवाबाट लाभान्वित हुने भएका छन् । वाइन टु वाटर नेपालको ६५ प्रतिशत लगानी, इच्छाकामना गाउँपालिकाको २५ प्रतिशत र उपभोक्ताको १० प्रतिशत गरी कुल ४ करोड ३६ लाख ६५ हजार ९ सय ८९ रुपैयाँ लागतमा बन्ने खानेपानी तथा सरसफाइ आयोजनाबाट ३ सय ९३ परिवारका हुने तयारीमा रहेको र जसबाट २०९५ जनसख्या लाभान्वित हुने छन् ।

वाइन टु वाटर नेपाल र इच्छाकामना गाउँपालिकाको साझेदारीमा आर्थिक वर्ष २०८०/०८१ मा २ वटा सोलार लिफ्ट र ३ वटा ग्राभिटीमा आधारित गरी ५ वटा खानेपानी आयोजना निर्माण हुने वाइन टु वाटर नेपालकी राष्ट्रिय निर्देशक रोशनी कार्कीले जानकारी दिनुभयो । उक्त खानेपानी आयोजनाहरुमा खानेपानी योजना सँगै सरसफाइ, स्वच्छता र जीविकोपार्जनका क्रियाकलापहरु पनि सञ्चालन हुने उहाँले बताउनुभयो ।

‘सञ्चालित कार्यक्रमहरुबाट बिकट गाउँमा रहेका चेपाङ समुदायको आर्थिक अवस्थामा सुधार आउने र जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ’ उहाँले भन्नुभयो ।
दुर्गम गाउँमा बसोबास गर्ने समुदायलाई प्रशोधित खानेपानी र एक घर एक धाराको अबधारणा अनुसार खानेपानी उपलब्ध गराउने वाइन टु वाटरको लक्ष्य रहेको छ । यी योजनाहरु सम्झौताको चरणमा रहेको र असोज महिना देखि कार्यान्वयनमा आउनेछन् ।

विगत तीन वर्षदेखि संस्थाले इच्छाकामना गाउँपालिकामा बिभिन्न खानेपानी, सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन, आपतकालीन सहयोग लगायत क्रियाकलापहरु गर्दै आइरहेको वाइन टु वाटर नेपालका प्रोग्राम मेनेजर यज्ञराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार इच्छाकामना गाउँपालिकामा हालसम्म १२ वटा खानेपानी योजनाहरु सम्पन्न भएका छन् । जसबाट ६ सय ४६ घरपरिवार लाभान्वित भएका छन् भने ती सबै योजनाहरु समुदायमा हस्तान्तरण भईसकेका छन् ।

पालिका प्रेस
थप जानकारी