मकवानपुरको थाहा नगरपालिका वडा नंम्बर ९ को चित्लाङमा यो वर्ष हिले जात्रा आयोजना गरिएको छ । लामो समयदेखि विभिन्न कारणले रोकिएको हिले जात्रा यो वर्ष पुनः श्री स्वच्छन्द भैरव धार्मिक तथा सांस्कृतिक व्यवस्थापन समितिले आयोजना गरेको हो ।

स्थानीय राजन बलामीले ऐतिहासिक तथा पौराणिक महत्वको नाच (हिले जात्रा) जनै पूर्णिमाको दिनबाट सुरु भएको र जात्रा १७ भाद्रसम्म चल्ने जानकारी दिए । उनका अनुसार जात्रामा खेतमा रोपाइँ गरे जस्तै गुठियारको घरको आँगनमा पुगेर नाच गान गरिन्छ । “यो रोपाइँ जात्रा जस्तै हो”, बलामीले भने, “रोपाइँ भएको छ छैन सोध्ने, रोपाइँ गर्ने र मनोरञ्जनका लागि राजारानी र भगवानको नाच प्रदर्शन गर्ने गरिन्छ, देउसिरेमा जस्तै मागिन्छ ।”

चित्लाङको माझगाउँमा लाग्ने जात्रामा गोरु एक हल, हली, बाउसे चार जना, रोपार तीन–चार जना, राजा एक जना, रानी दुई जना, राम, लक्ष्मण र हनुमान, कात्तिक नाचमा जस्तै तीन जना जोगीलगायतका पात्रहरु हुने गर्छन् । नाचमा बाजा बजाउनेलगायत झण्डै १५ जना गुरु रहने बलामीले बताए ।

माझगाउँका एक सय ३० गुठियारमध्ये एउटै आँगन भएकाहरुको एकै ठाउँमा गरी करिब ७०–८० स्थानमा नाच देखाइने छ । समितिले धर्म, संस्कृतिसँगै ऐतिहासिक तथा पौराणिकको संरक्षणका लागि नाच प्रदर्शन गरेको जनाएको छ । जात्रा सुरु हुँदा र समापन हुँदा स्थानीय डबलीमा पूजाआजा गर्ने गरिन्छ ।

पालिका प्रेस
थप जानकारी