थाहा नगरपालिकाको दामन, पालुङ र आग्राका विद्यालयका शिक्षकहरुलाई दिइएको पहिलो चरणको एकहप्ते योग शिक्षक तालिम सकिएको छ । तालिम १८ देखि २४ भाद्रसम्म पालुङ जेसिज सभाहलमा भएको थियो । थाहा नगरपालिकाका शिक्षकका लागि योग, ध्यान र साधना तालिम सिकेपछि उनीहरुले अब आफ्ना विद्यालयहरुमा बालबालिकाहरुलाई गराउनुपर्नेछ ।

थाहा नगरपालिकाका विद्यालयमा योग, ध्यानलाई नियमित गर्ने उद्देश्यले पहिलो चरणमा थाहाका १, २, ३, ४, ७ र ८ का सार्वजनिक तथा निजी विद्यालयका शिक्षकको सहभागितामा रहेको तालिमका संचालक तथा सुनौला सिकाइ केन्द्रका संयोजक रुपचन्न्द्र गोपालीले जानकारी दिए । तालिममा ३१ जना शिक्षकको सहभागिता रहेको थियो । थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा विद्यालयमा नियमित रुपमा विद्यार्थीहरुलाई योग, ध्यान कक्षा सञ्चालन गर्ने नीति लिएको थियो ।

विद्यार्थीलाई योग, ध्यान र साधनामार्फत अनुशासित र कर्तव्यनिष्ठ बनाई मानवमूल्यको जगेर्ना गर्ने थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले बताए । तालिमका सहाभागीलाई योगगुरु राजन बिडारीले प्रशिक्षण दिएका थिए । तालिममा योगासन, ध्यान मुद्रा, प्राणायाम आहार विहार चर्या र प्रयोगात्मक ज्ञान सहितको विषेश शिक्षक प्रशिक्षण दिएको थियो। थाहानगर शिक्षा शाखाका अधिकृत माधव बिक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा अधिकृत मल्लले अहिले सामुदायिक विद्यालयमा योग र ध्यानको पठनपाठन र अभ्यासका लागि एक÷एक जना शिक्षकलाई तालिम दिएर प्रशिक्षित गराएको सुनाए । उनले भने– “अब प्रशिक्षित शिक्षकले आ–आफ्नो विद्यालयमा विद्यार्थीलाई योग र ध्यानबारे सैद्धान्तिक र व्यावहारिक अभ्यास गराउनु हुनेछ ।’

कार्यक्रममा योग गुरु राजन बिडारीले योग र ध्यानले मानिस अनुशासित हुनेसँगै स्वस्थ रहने र मानसिक विकार हटेर आनन्दको अनुभूति गर्नसक्ने बताए । विद्यालयमा अनिवार्य शुरु गरिने ध्यान र योगका सैद्धान्तिक छलफल र अभ्यासले समाजमा यसको अनुकरण गर्ने थपिँदै जाने बिडारीले बताए । तालिमको संयोजन सुनौला सिकाइ केन्द्रले गरेको थियो। सिकाइ केन्द्रले हरेक शनिबार नियमित योग, ध्यान शिविर आयोजना गर्दै आइरहेको छ ।

पालिका प्रेस
थप जानकारी