स्थानीय तहको जनस्वास्थ्य कार्यक्रम सम्पादनमा थाहा नगरपालिका उत्कृष्ट भएको छ । गत आर्थिक वर्षमा स्थानीय तहमा भएका जनस्वास्थ्यका कार्यक्रम सम्पादनमा थाहा नगरपालिका जिल्लामै उत्कृष्ट भएको हो ।

मकवानपुरका १० स्थानीय तहमा समान अंकका साथ मकवानपुरगढीसँगै थाहा नगरपालिका जिल्ला प्रथम भएको हो । स्वास्थ्य कार्यालय मकवानपुरद्वारा १९ र २० असोजमा हेटौडामा सञ्चालित जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको अन्त्यमा थाहा नगरपालिकालाई प्रथम घोषणा गर्दै प्रशंसापत्र प्रदान गरिएको हो । ‘जिल्लाको दशवटा स्थानीय तहहरुमध्ये मुख्य मुख्य सूचकको आधारमा थाहा नगरपालिका प्रथम हुन सफल भएको हो, हामी निरन्तर सफलताको कामना गर्छौं’ स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले भने ।

जिल्लामै उत्कृष्ट भएपछि प्रतिक्रिया दिँदै थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले थाहा नगरपालिकाका नगरप्रमुखदेखि कर्मचारीसम्मलाई धन्यवाद व्यक्त गरेका छन् । थाहा नगरपालिकामा अझ बढी स्वास्थ्य सेवाको पहुँच पुर्याउन थप जिम्मेवारी थपिएको भन्दै उनले अझ बढि प्रगतिका लागि सामूहिक जिम्मेवारीकासाथ कृयाशील रहने प्रतिबद्धता जनाए ।

पालिका प्रेस
थप जानकारी